कविता

मान्छेका प्रकार !

मान्छेका प्रकार !

नझुक्किनुस् है,
मान्छेका अनुहार भएकाहरू
सबै मान्छे कहाँ हुन् र ?
अनुहारले मान्छे देख्नुभो होला
तर विचारले, कर्मले हेर्नुस् त
तिनीहरू केवल कुकुर हुन्
मात्र गधा हुन् ।

कुकुर प्रवृत्तिका मानिसहरू
जिन्दगीभर…
एक टुक्रा हड्डीका निम्ति
मालिकको पाद सुँघिरहन्छन्
मान्छेको समानता र न्यायको असीम चाहनालाई
लात मारेर, घात गरेर
सिर्फ एक चोक्टा मासुका निम्ति
विभेदको सिक्रीले बाँधिन मञ्जुर हुन्छन्
र त्यसपछि
सत्ताधारी मालिकको आलिशान महलबाट
तल सडकमा
न्यायको खोजीमा निस्केका
मान्छेहरूलाई बेस्मारी भुक्छन्
साला, कुकुरहरू ।

च्योच्यो…कुतिकुति…
कुकुरको बफादारीता देखेर
मालिकले चारो फ्याँल्छ
ला, एक चोक्टा सांसद
ला, एक चोक्टा मन्त्री
ला, एक चोक्टा प्रतिष्ठानको उपाध्यक्ष
ला, एक चोक्टा आयोगको अध्यक्ष
दशकौंदेखि मालिकको ढोकामा
र्‍याल काढ्दै कुरिबसेका कुकुरहरू
लाज पचेर/ज्यान फ्याँलेर
चोक्टातिर झम्टिन्छन्
ङारङार, ङुरङुर एकापसमा लड्न थाल्छन्
यो दृष्य खुबै हर्नलायक हुन्छ
मान्छेको अनुहार भएको
कुकुरको गती देखेर
सिंहदरबारको बार्दलीबाट
मालिक मन्द, मन्द मुस्कुराउँछ
थुक्क, कुकुरको जुनी ।

हेर्नुस् त गधाको ताल
साला गधाहरू
मालिकको भारी बोक्न नपाएर
कहिले फाइभ स्टार होटलमा त
कहिले मालिकको बङ्गलामा रोइरहेका छन्

ए मेरा प्रिय मान्छेहरू !
मान्छेहरू कहिलेदेखि यसरी
कुकुर भए ? गधा भए ?
र विभेदको साङ्लोमा बाँधिन मञ्जुर भए ?
एक चोक्टा मासुका निम्ति आफैँलाई भुले ?
मान्छेको हुर्मत लिए ?
मान्छेको बेइज्जत गरे ?

यदि यिनीहरू मान्छे भएका भए त
समानता चाहन्थे, समता चाहन्थे
स्वतन्त्रता चाहन्थे, न्यायनिशाफ गर्थे
अन्याय भो भन्थे, अन्यायको विरुद्धमा लड्थे

मान्छे हुन भुलेका
यी कुकुर र गधाहरूलाई
खै, कसरी मान्छे बनाउने होला ?
खै, कसरी मान्छेलाई बचाउने होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *