उपसभामुख छान्न आज मतदान, गठबन्धनबाट भुसाल र एमालेबाट भट्टराई उम्मेदवार

काठमाडौँ । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन आज हुँदैछ । उपसभामुख छान्न दिउँसो ३ बजे मतदान हुने भएको हो ।

जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन् । भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की-२ बाट निर्वाचित एमाले सांसद हुन् । उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन् ।

कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन् । भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन् । २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् ।

यो पनि : उपसभामुखका दुई प्रत्याशी पुष्पा र विद्या काे हुन् ?

संसद्‌मा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग पक्का छ । प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =