प्रश्नपत्रमा लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपति लगायतले लिनुपर्छ : सभापति घर्ती

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको प्रश्न पत्रमा लापरबाही गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विश्वविद्यालयको प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो । बैठकले प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्ने विषयमा छानबिन समिति गठन गर्न पनि निर्देशन दिएको छ ।

समिति सभापति जय पुरी घर्तीले छानबिन समितिको प्रतिवेदन समितिमा पेस गर्न पनि निर्देशन दिइन् । उनले विश्वविद्यालयको प्रश्नपत्रमा लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका उपकुलपति लगायत सबै पदाधिकारीले लिनुपर्ने जिकिर गरिन् ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रश्न पत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताए । देशको करिब ८० प्रतिशत ब्यायभार बोकेको त्रिभुवन विश्वविद्यालयले आफ्नो गल्तीलाई सच्चाउँदै आगामी दिनमा यस्तो कार्य गर्न नदिनेमा आफू सजग भएको बताए ।

प्रश्न पत्र हुबहु निकाल्नेमाथि छानबिन भइरहेको बताउँदै उनीहरूमाथि कडा कारबाही हुने विश्वास व्यक्त गरे ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले स्नातक र स्नातकोत्तर तहका ४ वटा प्रश्न पत्र बाहिरिएको र हुबहु दोहोरिएको बताए । उनले हुबहु प्रश्न पत्र बाहिर आएपछि केही विषयहरूको परीक्षा पुन गर्ने निर्णय गरिएको जिकिर गरे ।

बैठकमा समिति सदस्यहरूले प्रश्न पत्र बाहिरिनु र दोहोरिनुमा त्रिभुवन विश्वविद्यालयका माथिल्लो पदाधिकारीको समेत संलग्नता रहेको हुनसक्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए ।

अर्थशास्त्र विभागले जेठ १८ गते सञ्चालन गरेको स्नातकोत्तर तह तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्न पत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *