पूर्णरूपमा महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर महाराजगञ्जमा

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले काठमाडौँको महाराजगन्जमा सम्पूर्ण रूपमा महिला कर्मचारीहरूद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने एनसेलले जनाएकाे छ ।
एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैङ्गिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण भएकाे मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले बताए । यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआई) मिसन अनुरूप रहेको उनले बताए । जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्ने विश्वास उनले व्यक्त गरे ।
सम्पूर्ण रूपमा महिला कर्मचारीहरूबाट सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याइएको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, “काठमाडौँको मुटु महाराजगन्जमा पूर्णरूपमा महिला कर्मचारीहरूद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौँ । यो कदमले एनसेलको डीइआई अर्थात् विविधता, समानता र समावेशितालाई बढवा दिने नीतिमा ठूलो महत्त्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थनजस्ता रणनीति र अभ्यासहरूले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।”
त्यसै गरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भनिन्, “यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरैजसो पुरुषहरूको सहभागिता रहने गर्दथ्यो । विगत ३–४ वर्षमा यस क्षेत्रमा लैङ्गिक समानताका लागि निरन्तर प्रयासहरू भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिप्रेक्ष्य हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ ।लैङ्गिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।”
महिला कर्मचारीहरूद्वारा सञ्चालित उक्त एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्नेछन् ।
यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्ने एनसेलले जनाएकाे छ ।
त्यस्तै, एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विशेष अफर पनि रहेको छ । जसअन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् ।
यस सेन्टरबाट गरिने प्रत्येक रु ५० को रिचार्ज बराबर ग्राहकले रु २० को रिचार्ज कार्ड बोनसस्वरूप प्राप्त गर्दछन् । यसको अर्थ रु १०० रिचार्ज गर्ने ग्राहकले रु २० को दुईवटा रिचार्ज कार्ड बोनसस्वरुप प्राप्त गर्दछन् । त्यस्तै रु २०० रिचार्ज गर्ने ग्राहकले रु २० को चार वटा रिचार्ज कार्ड बोनसस्वरुप प्राप्त गर्नेछन् । त्यस्तै, रु ५०० रिचार्ज गर्ने ग्राहकले रु २० को १० वटा रिचार्ज कार्ड बोनसस्वरुप प्राप्त गर्दछन् ।
आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता अनुरूप, यस पूर्णरूपमा महिला कर्मचारीहरूद्वारा सञ्चालित एनसेल सेन्टरले आइतबारदेखि शनिवार हप्ताको सातै दिन बिहान ९ः३० बजेदेखि साँझ ६ बजे सम्म ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ ।
यसले ग्राहकको सेवा अनुभव थप बढाउन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
ग्राहकको आवश्यकताअनुसार सेवा प्रदान गर्न एनसेलले देशैभरी ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।








