२ जना नाबालकलाई सुनकाे सिक्री चाेर्न लगाउने युवक पक्राउ

रुपन्देही । नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका ४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।

रुपन्देही कञ्चन गाउँपालिका ४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीय महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरूले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका ४ बनकसिया डिहोमा लुकिछिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा विजयले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रुपन्देही कञ्चन गाउँपालिका ४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनी सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगी बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ ।

उनीहरू उपर चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *