रुटिन अफ नेपाल बन्दको प्रश्न- ‘यो कुनै ई-स्पोर्ट्स कम्पनी होइन, कसरी आउँछ १ करोड ?’

काठमाडौँ । रुटिन अफ नेपाल बन्दले आफू कुनै इ-स्पोर्ट्स कम्पनी नभएको स्पष्टीकरण दिएको छ । बुधबार एक प्रेस नोट जारी गर्दै सञ्चारमाध्यममा आएजस्तो कुनै ई-स्पोर्ट्स कम्पनी नभएको स्पष्टीकरण दिएको हो ।

साथै आफू कार्यक्रम आयोजना गर्ने कम्पनी नभएको पनि बताएको छ । ‘सञ्चारमाध्यममा हामी एक मात्र ई-स्पोर्ट्स कम्पनी भन्ने दाबी गरेर काठमाडौँ महानगरले हाम्रो लागि १ करोड बजेट छुट्याएको भनिएको छ । सर्वप्रथम, रुटिन अफ नेपाल बन्द कुनै ई-स्पोर्ट्स कम्पनी होइन भने यो संस्था कार्यक्रम आयोजना गर्ने कम्पनी पनि होइन ।’ प्रेस नोटमा भनिएको छ ।

रुटिन अफ नेपाल बन्द प्रेस काउन्सिलमा दर्ता भएको मिडिया हो रहेका पनि उल्लेख गरिएको छ । ‘तथ्यका आधारमा भन्ने हो भने ई-स्पोर्ट्स खेलाउने, खेल्ने प्रयोजनका लागि दर्ता भएका कम्पनी धेरै छन् नेपालमा । समाचारमा भनिए जस्तो ई-स्पोर्टसको समूहमा पब्जी मात्रै पर्ने पनि होइन,’ प्रेस नोटमा अगाडि भनिएको छ, ‘बिना अनुसन्धान कुनै व्यक्ति कम्पनीको नाम लिएर झुटो आधारमा समाचार बनाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यस्तो कार्यप्रति हाम्रो संस्था खेद प्रकट गर्दछ ।’

आफूहरूलाई १ करोड छुट्याएको भनेर लेखिएका समाचारमा सत्यता नभएको उसको ठहर छ । ‘हामी सो समाचार, समाचार निर्माता तथा प्रसारण गर्ने कार्यक्रम र संस्थाका विरुद्ध मानहानि र प्रेस काउन्सिलमा झुटो समाचार सम्प्रेषण गरेको बारे उजुरी दर्ता गर्ने छौँ,’ प्रेस नोटमा भनिएको छ, ‘कसैप्रति लक्षित अनर्गल प्रचार गर्दै आफ्ना कुण्ठा व्यक्त गर्ने दुष्कर्मबाट सम्पूर्ण मिडिया क्षेत्रलाई बदनाम नगर्न, नगराउन यही निवेदन मार्फत सचेत गराउन चाहन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *