प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ जना साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तिहरूलाई नगदसहित सम्मान गरेको छ ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ‘दीनबन्धु-उषादेवी गोयल प्रतिभा पुरस्कार’ डा. दुवसु क्षेत्री, ‘लीलानाथ-विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’ डा. ज्ञानु पाण्डे र ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ वरिष्ठ भाषा शास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । पुरस्कृतलाई जनही ५० हजार राशि र सम्मान पत्र समर्पण गरिएको हो ।

२२ हजार राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’बाट झापाका हरिप्रसाद न्यौपाने र सुनसरीका नारद पोखरेल संयुक्त रूपमा सम्मानित भएका छन् । त्यस्तै साहित्यकार लोचन रिजाल र भरत गुरागाईँलाई २२ हजार राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिएको छ । २०३९ सालमा जनस्तरबाट स्थापित भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने परम्पराअनुसार प्रतिभा पुरस्कार प्रतिष्ठानले कृतिसमेत प्रकाशित गर्दै आएको छ ।

‘जीवनको अभिनन्दन’ विमोचन
अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो ।

प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख साहित्यकार प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रूपमा ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरे ।

विमोचित कृतिमाथि समालोचक डा. रामजी तिम्सिनाले टिप्पणी गरे । उनले निबन्ध सङ्ग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । समालोचक तिम्सिनाले निबन्ध सङ्ग्रहमा प्रयोग भएका भाषा आम पाठकले बुझ्ने बताए । सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *