एम अधिकारी आफू नभएकाे गभर्नरकाे दाबी, सरकार भन्छ- याे विषयलाई गम्भीररूपमा लिएका छाैँ

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठेकाे छ । उनकाे नाम नेकपा (एमाले) काे अर्थ तथा याेजना समितिमा छ भनेर दाबी गरिएकाे छ । समितिमा खाेटाङका एम अधिकारी सदस्य छन् । उनी गभर्नर अधिकारी हाे वा हाेइनन् भन्नेबारे आधिकारिकरूपमा पुष्टि भइसकेकाे छैन । तर उनकाे आलाेचना भने शुरू भएकाे छ ।

एमालेले भने एम अधिकारी गभर्नर महाप्रसाद नभएकाे प्रष्टाेक्ति दिएकाे छ । खाेटाङकै एमाले नेता विशाल भट्टराईले भने, ‘एम अधिकारीकाे ठेगाना गल्ती भएकाे रहेछ । उहाँ महाप्रसाद अधिकारी हाेइनन् । एम अधिकारी माेरङतिरका हुन् । खाेटाङमा ८ हजार एमालेका पार्टी सदस्य छन् । त्यसमा महाप्रसादजी हुनुहुन्न, उहाँ त गभर्नर भइहाल्नुभयाे ।’

विभिन्न राजनीतिक दलका नेताहरूले गभर्नर अधिकारीमाथि प्रश्न उठिसकेपछि याे विषय किनारा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ दलका नेताहरूले यसबारे बाेलेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, माओवादी नेतृ रेखा शर्मालगायतले याे विषयकाे सत्यतथ्य बाहिर आउनुर्ने बताएका छन् ।

म एम अधिकारी हाेइन : गभर्नर महाप्रसाद

गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना समितिमा रहेकाे एम अधिकारी आफू नभएकाे जिकिर गरेका छन् । ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन, म यही जानकारी दिन्छु । म एम अधिकारी हाेइन,’ उनले भनेका छन् ।

उनले त्यसअघि भनेका छन्— ‘म कुनै पार्टीसँग जोडिएको पनि छैन । म कहाँबाट एमालेमा हुनु ।’

उनले आफू राजनीतिबाट निरपेक्ष व्यक्तिरहेकाे पनि प्रष्टाेक्ति दिएका छन् । उनले भनेका छन्, ‘म गभर्नर हुँ । कुनै पनि पार्टीकाे सदस्य हाेइन । म कुनै पनि पार्टीकाे कुनै पनि तहकाे समितिहरूकाे सदस्य छैन ।’

सरकार भन्छ- याे विषय गम्भीर हाे, त्यसैगरी हेरिनुपर्छ

नेपाल सरकारले याे विषय गम्भीर रहेकाे बताएकाे छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गभर्नरकाे विषयलाई सरकारले गम्भीररूपमा लिएकाे बताएका छन् । ‘आज संसद्‌मा पनि यो विषय धेरै माननीयहरूले उठाउनुभएको छ । यसलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ र सरकारले त्यसैगरी हेर्छ,’ उनले भनेका छन् ।

प्रश्न उठिसकेपछि यसकाे निराकरण पनि खाेजिनुपर्ने उनकाे भनाइ थियाे । ‘उहाँमाथि प्रश्न उठेकाे छ,’ उनले भनेका छन्, ‘अब त्याे भइसकेपछि यसलाई यत्तिकै राख्न मिल्ने कि नमिल्ने भन्ने पनि हुनसक्छ । त्यसाे हुँदा यसलाई गम्भीररूपमा हेरिनुपर्छ ।’

यसबारे अब उठ्ने थप प्रश्नहरूले पनि त्यसकाे निर्धारण गर्ने उनकाे भनाइ छ ।

संसद्‌सम्म पुग्याे विषय

याे विषय संसद्‌सम्म पनि पुगेकाे छ । बुधबार बसेकाे संसद् बैठकमा सांसदहरूले यसबारे छानबिन गरी दाेषी भेटिए कारबाही गर्न माग गरेका छन् । माओवादी सांसद अमृता थापाले गभर्नर महाप्रसाद एमालेकाे अर्थ तथा याेजना समितिका सदस्य भएकाे आराेप लगाउँदै भनिन्— उहाँमाथि छानबिन गरेर कारबाही गरियाेस् ।

यस्तै अर्की मा‌ओवादी सांसद अञ्जना विशुङ्खेले पनि साेहीखाले माग गरिन् । ‘एमालेको अन्तरपार्टी निर्देशनमा एम अधिकारी खोटाङ भनेर आएको नाम महाप्रसाद अधिकारी नै रहेको बताइन्छ,’ उनले भनिन्, ‘राजनीतिक दलका सदस्य रहेकाे व्यक्ति गभर्नर कसरी भयाे ?’

अर्की सांसद रेखा शर्माले मुलुकको गभर्नर कुनै पार्टीको विभाग/समितििकाे सदस्य हुनु नपाउने व्यवस्था रहेको भन्दै उक्त विषयमा छानबिन हुनुपर्ने बताइन् । ‘यस सन्दर्भमा प्रचलित कानून र बैंकको ऐन, नियमावलीविपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको छ,’ उनले भनिन् ।

२०७३ सालमा एमालेकाे साेही समितिमा थिए महाप्रसाद

त्यसाे त २०७३ सालमा गठन भएकाे एमालेकाे साेही समितिमा भने गभर्नर महाप्रसाद छन् । जत्तिबेला उनी गभर्नर भइसकेकाे थिएनन् । २०७३ जेठ २१ गते तत्कालीन एमाले महासचिव (हालका वरिष्ठ उपाध्यक्ष) ईश्वर पाेखरेलद्वारा जारी भएकाे प्रेस वक्तव्यमा महाप्रसाद साेही समितिका सदस्य छन् ।

तत्कालीन अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेकाे संयाेजकत्वमा बनेकाे समितिकाे १५ नं. मा महाप्रसाद छन् ।

यसबारेकाे प्रश्नमा एमाले नेता विशाल भट्टराई भन्छन्— ‘त्यत्तिबेला उहाँलाई राखिएकाे हुनसक्छ । किनभने सम्बन्धित विषयबारे जानकारी राख्ने हुनाले उहाँकाे सहयाेग आवश्यक पर्छ भन्ने हिसाबले उहाँलाई राखिएकाे हुनसक्छ । तर अहिले त एमालेकाे कुनै समितिकाे सदस्य पनि उहाँ हुनुहुन्न र एम अधिकारी उहाँ हाेइन ।’

कुनै पनि पार्टीकाे सदस्य रहेका व्यक्ति कानूनत: गभर्नर हुँदैनन्

कुनै पनि पार्टीकाे सदस्य रहेकाे व्यक्ति नेपाल राष्ट्र बैंककाे गभर्नर हुन मिल्दैन, सक्दैन । यसबारे नेपाल राष्ट्र बैंक ऐनले व्यवस्था गरेकाे छ । ऐन २०५८ काे दफा २१ मा भनिएकाे छ—  ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *