एमाले भन्छ- अर्थ समितिमा रहेका एम अधिकारी महाप्रसाद हाेइनन्, ठेगाना गल्ती भएछ

काठमाडाैँ । नेकपा (एमाले) ले पार्टीकाे अर्थ तथा याेजना समितिमा रहेकाे एम अधिकारी नेपाल राष्ट्र बैंका गभर्नर महाप्रसाद अधिकारी नभएकाे प्रष्टाेक्ति दिएकाे छ । ‘हाम्राे पार्टी नेकपा एमालेकाे अर्थ तथा याेजना समितिमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी हाेइनन्,’ एमाले नेता विशाल भट्टराईले भने, ‘त्यहाँ सूचीमा एम अधिकारीकाे ठेगाना गल्ती भएकाे हाे ।’

एमाले खाेटाङबाटै प्रतिनिधित्व गर्ने नेता भट्टराईले थपे, ‘हाम्राे खाेटाङमा ८ हजार पार्टी सदस्यहरू छन् । त्यसमा महाप्रसाद अधिकारी हुनुहुन्न । उहाँ पार्टीहरूकाे सदस्यता लिने मान्छे नै हाेइन नि ।’ एम अधिकारीचाहिँ कहाँ हुन् ? भन्ने प्रश्नमा उनले भने— ‘ माेरङतिरका मान्छे हुन् ।’

त्यसाे त २०७३ सालमा बनेकाे एमालेकाे अर्थ तथा याेजना समितिमै पनि महाप्रसाद अधिकारी छन् । जत्तिबेला उनी गभर्नर भइसकेका थिएनन् । यसबारे भने भट्टराई भन्छन्— ‘उहाँ विषयविज्ञ हुनुहुन्थ्याे, त्याे भएर राखिएकाे हुनसक्छ । तर अहिले त उहाँ हुनुहुन्न ।’

राष्ट्र बैंक ऐन २०५८ काे दफा २१ अनुसार नेपाल राष्ट्र बैंककाे गभर्नर वा बैंकका कुनैपनि पदाधिकारी कुनै राजनीतिक दलको कार्यकर्ता तथा पदाधिकारी हुनु हुन्न । त्यहाँ भनिएकाे छ— ‘राष्ट्र बैंकका सञ्चालक, गभर्नर वा डेपुटी गभर्नर कुनै पनि पार्टीको सदस्य, पदाधिकारी वा कार्यकर्ता बन्न पाउँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =