बस्ती जोगाउन बनाइएको तटबन्ध पहिलो बाढीमै बग्यो, नदीको धार बस्तीतिर

काठमाडाैँ । कैलालीको कैलारी गाउँपालिकाले बाढीको उच्च जोखिममा रहेको वडा नम्बर ३ स्थित शिवरत्नपुर गाउँ जोगाउन मोहना नदीमा १५ लाख रुपैयाँ खर्चेर तटबन्ध निर्माण गर्यो । त्यही तटबन्ध जोगाउन विपद जोखिम न्यूनीकरण अन्तर्गत पाँच लाख रुपैयाँ खर्चेर जैविक तटबन्ध पनि निर्माण गरियो ।

यति बनेपछि यसपाली बाढीबाट खेतीयोग्य जमिन र बस्ती जोगिन्छ कि भन्ने आशा बोकेका स्थानीयको त्यो आशा एक महिना पनि टिकेन । गत जेठ १५ गते निर्माण सम्पन्न भएको तटबन्ध यसपाली आएको पहिलो बाढीमै बग्यो । केही दिनअघि परेको भारी वर्षापछि मोहना नदीमा आएको बाढीले भौतिक र जैविक दुबै तटबन्ध एकैसाथ बगायो । तटबन्धको नामनिशान पनि रहेन ।

नदीको धार सोझै गाउँतर्फ सोझिएपछि तटबन्ध पुरै बगेको तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तराम चौधरीले बताए । ‘धेरै मिहिनेत गरेर बनाइएको भौतिक र जैविक तटबन्ध पहिलो बाढीमै बग्यो’, उनले भने, ‘तटबन्ध बगाएपछि बस्ती थप जोखिममा परेको छ ।’ उनका अनुसार गएको वर्ष असोज–कात्तिकमा आएको बेमौसमी बाढीले मोहना नदीको धार गाउँतर्फ आएको थियो ।

गत वर्ष असोज–कात्तिकमा आएको बेमौसमी बाढीले खेतमा काटेर राखेको धान बगाउनुका साथै खेतीयोग्य जमिन पनि बगरमा परिणत भएपछि यसवर्ष शिवरत्नपुरबासीले धान पनि रोपेका छैनन् । बेमौसमी बाढीले करिब ९५ घरधुरीको धान बगाएर लगेको र खेती योग्य जमिनमा बालुवा ल्याएर थुपारेको समितिका अध्यक्ष चौधरीले बताए । बर्सेनि बर्खाको बेला कटान गरी मोहना नदीले सयौं बिघा खेतीयोग्य काटेर लिएको उनले बताए ।

शिवरत्नपुर गाउँका स्थानीय कमल चौधरीले वस्ती जोगाउनका लागि बनाइएको भौतिक र जैविक तटबन्ध नै बाढीले बगाएपछि बस्ती उच्च जोखिममा परेको बताए । ुबाढी आउनेबित्तिकै सुरुमा १५ घरधुरीको उठीबास हुने अवस्था छ,’ उनले भने, ुठूलो बाढी आएमा १५ घरधुरीसंगै बस्तीका ९५ घर पनि उच्च जोखिममा पर्नेछन् ।’ उनले गाउँमा बाढी पसेमा सुरक्षीत भएर भाग्ने ठाउँसमेत नरहेको उनको भनाइ छ ।

स्थानीयबासीले बाढीको उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोवासको ब्यवस्था गर्न माग गर्दै मंगलबार जिल्ला विपद व्यवस्थापन समिति कैलाली र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा बाढीको समयमा तत्कालका लागि उद्धार कार्यका लागि आवश्यक औजार, उपकरण तथा प्लाष्टिकको डुंगाको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । साथै वर्षेनी हुने डुवान, कटान र पटानबाट बस्ती, आम नागरिक, पशु चौपाया तथा खेतीयोग्य जमिनको संरक्षणका लागि विषेश गुरु योजना निर्माण गरी तत्काल कार्यान्वयन गर्न माग राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =