भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सम्मानित

विराटनगर । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्म जयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरेको हो ।

मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईँ, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका सङ्ग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित भए । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डित तथा कलाकार करुणा झालाई भानु पदकबाट विभूषित गरिएको छ ।

सोही अवसरमा भानु चतुर्भुज आशावादी सम्मान मिलन सिंह मधुर र रामकिशोर उपाध्यायलाई प्रदान गरिएको छ । पुरस्कृत तथा सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङ र आयोजक संस्थाकी अध्यक्ष माया पौडेल आशावादीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रम संयोजक प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट नेपाललाई जोडेको बताए ।

सोही अवसरमा आयोजित बहुभाषिक कवि गोष्ठीमा भगवान झा, ऋषिधन बायुङ राई, भगवती ढुङ्गेल, गोविन्द तामाङ, भवानीप्रसाद पोखरेल, कर्ण सञ्जय, सरिता तुलाधर, सविना श्रेष्ठ, सुजाता राई, दशरथ रुम्दाली राई, चाँद इराकी, कविता केशरी, लक्ष्मी चौधरी, कुशेश्वर राजवंशी, पूजा बहार, नारायण याक्सोलगायत एक दर्जनभन्दा बढी कविहरूले विभिन्न भाषाका कविता वाचन गरे । कलाकार सपना साह, अञ्जना नेपाल, सरिता अर्याल, जमुना सापकोटा, टीका श्रेष्ठ, ग्रिस्मा श्रेष्ठ र सङ्गीता यादवले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *