पुरस्कार वितरणमा मैथिली क्षेत्रमाथि उपेक्षा गरेकाे आरोप, कार्यक्रम स्थलमै विरोध

विराटनगर । विराटनगरमा मंगलबार दिउँसो गुरुकुलमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थिए प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई । बिहानको करिब १० बज्दा नबज्दै आरोहण गुरुकुलको सभाहल भरिन थालिसकेको थियो ।

प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम समयमा नै शुरु हुने आशासहित उपस्थित भएका  थुप्रै स्रष्टाहरू कार्यक्रम शुरु  गर्नको लागि दिइएको समय १० बजेको सेरोफेरोमा उपस्थित भइसकेका थिए ।

प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा प्रदेश १ का १९ जना स्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो । पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बु साँढे १० बजे भन्दा अगाडि नै कार्यक्रममा आई सकेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि भनिएका मुख्यमन्त्री राजेन्द्र राई समयमा कार्यक्रममा पुगेनन् ।

कार्यक्रम शुरु गर्नु भन्दा करिब अढाई घण्टा भन्दा ढिलो आइपुगेको कार्यक्रममा सहभागीहरू बताउँछन् । ‘मुख्यमन्त्री आउँदासम्म हामी दिक्क भइसकेका थियौँ, कार्यक्रममा सहभागी हुन आएका एक स्रष्टाले भने, हामीलाई समयमा नै कार्यक्रम शुरु होला भन्ने लागेको थियो तर निक्कै ढिला भयो ।’

गलजकार विनोद घिमिरेले बिहान १०ः३० बजे हुने भनेको कार्यक्रम भनेर दिउँसो १ बजेर १५ मिनेटमा शुरू गर्नु भनेको संसारको सबै भन्दा लज्जास्पद हास्यास्पद कार्यक्रम भएको बताएका छन्। उनले प्रदेश सरकारको मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट पूरा दुइदुई घण्टा ढिलो कार्यक्रममा उपस्थित हुनु भनेको गैर जिम्मेदारी देखिएको बताए ।

 ‘कार्यक्रम स्थल फितलो लाग्यो यति धेरै स्रष्टालाई सम्मान गर्दा सम्मानित सर्जक कहाँ छन्  पूरा दूरबिन लगाएर खोज्नु पर्ने अवस्था देखिएको उनले सामाजिक सञ्जालमा लेखेका  छन् । ‘पूरा अव्यवस्थित हुनु भनेको श्रष्टाकोलागि दुखद कुरा भएको छ, खैर जे जस्तो भए पनि साहित्यमा कलम चलाउने स्रष्टा सम्मानित हुने नजिर बसेको छ, उनले भनेका छन्, हामी सबै स्रष्टालाई हार्दिक बधाई छ।’तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना आव्हान गरेर छनौट भएका स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने परम्पराको थालनी गरेका थिए । त्यही परम्परालाई निरन्तरता दिँदै  यो वर्ष १९ जना स्रष्टालाई नगद सहित सम्मान गरिएको छ ।

सरकारले यो वर्षको बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान २०७९बाट दुई जनालाई सम्मान गरेको छ।  प्रा. डा. गोविन्द तुम्वाङलाई र प्रा.डा. कालुराम खम्बु पुरस्कृत भए ।

प्रदेश भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान २०७९ बाट मनु मन्जिल, गोवर्धन तामाङ , विजय श्रेष्ठ, भरत गुरागाईँ, ममता गिरी, गोपाल देवान, वीरबहादुर लाप्चालाई पुरस्कृत गरिएको छ। हरि कट्टेल, मान सिंह थुलुङ, महेन्द्र राई, जयन्तीरमण कण्ठ,  नवराज राई लाई पनि पुरस्कृत गरिएको छ।

त्यस्तै नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार९२०७९ बाट ५ जना पुरस्कृत भएका छन् ।  लीला उप्रेती, यशोदाकुमारी लम्साल, चेतन आङ्थुपो, मधुराज केरुङ र, विमला चिमोरिया पनि पुरस्कृत भएका छन् ।

सम्मानको विरोध

स्रष्टा सम्मानको नेपाल मैथिली एसोसिएसन नेपालले विरोध जनाएको छ। भाषाभाषीको साहित्य र कलाको सम्मान गर्न नसकेको भन्दै उसले कालो ब्यानर सहित कार्यक्रम स्थल बाहिर विरोध गरेको हो । एसोसिएसनका अध्यक्ष प्रबिन नारायण चौधरीले यो सम्मानले मैथिली भाषी माथि दमन र अपमान गरेको बताए । यति धेरै पुरस्कारमा एक जना पनि मैथिली कलाकार नपर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ।

मैथिलीसँग सम्बन्धित संघ संस्थालाई उपेक्षा गरेको मैथिली विकास अभियान अध्ययनका अध्यक्ष पङ्कज बर्माले बताए ।   ‘सबै विधालाई पुरस्कृत गरिँदै छ भने कुनै पनि विधालाई छोड्नु हुँदैन थियो, उनले भने, हाम्रो मैथिली विधाको स्रष्टालाई उपेक्षा गरिएपछि हामी विरोध प्रदर्शनमा नै उत्रिनु पर्ने अवस्था आयो ।’

मैथिली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने मधेशी जो सुकै नेपालीलाई सम्मान तथा पुरस्कार दिनुपर्ने उनीहरूको माग थियो ।
विरोधमा आएका मैथिली अभियानकर्मीले मुख्यमन्त्रीलाई पनि त्यो  विषयमा ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री राईले भने असन्तुष्ट पक्षको कुरा सुन्दै आगामी वर्ष अहिलेको विषयलाई सम्बोधन गर्ने बताए । मुख्यमन्त्री राईले उनकै सरकारको पालामा फेरि पुरस्कार दिन सकिने भएकोले त्यो बेला सबै कुरा बिचार गर्ने बताउँदै उनले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने प्रतिबद्ध व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *