केन्द्रीय समिति बैठकमा बाबुरामकाे दाबी- बहुमत हामीसँग छ, रूपान्तरणकाे प्रयास गर्छाैँ

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमत आफूहरूसँग भएकाे दाबी गरेका छन् । मंगलबार काठमाडाैँमा शुरू भएकाे केन्द्रीय समितिकाे विस्तारित बैठकलाई सम्बाेधन गर्दै बाबुरामले यस्ताे दाबी गरेका हुन् । ‘पार्टीकाे मूल पङ्क्ति हामीसँग छ । बहुमत हामीसँग छ । यसैकाे बलमा हामीले पार्टी रूपान्तरणकाे काेसिस गर्नेछाैँ, प्रयास गर्नेछाैँ ।’
उनले केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवलाई वीरगञ्जकाे बैठक स्थगित गरेर आउन आग्रहसमेत गरेका छन् । ‘म मेराे मित्र उपेन्द्र यादवलाई भन्न चाहन्छु— आउनुस् वीरगञ्जकाे बैठक स्थगित राखेर आउनुस् । यहीँ सल्लाह गराैँ । तपाईंहरूलाई के आइलाग्याे गर्मीमा वीरगञ्जमै बैठक राख्नुपर्ने ?’ उपेन्द्र पक्षले बुधबारबाट वीरगञ्जमा केन्द्रीय समितिकाे बैठक बाेलाएकाे छ । उक्त बैठक स्थगित गरेर आउन बाबुरामले उपेन्द्रलाई आग्रह गरेका हुन् ।
जसपा पनि अरु पार्टीजस्तै देखियाे
बाबुरामले वैकल्पिक राजनीतिमार्फत् समाज परिवर्तनकाे काम गर्ने भनेर बनेकाे जसपा पनि कांग्रेस-कम्युनिष्टजस्तै बनेकाे बताए । ‘हामीले जुन हिसाबले वैकल्पिक राजनीति गर्ने भनेर आएकाे थियाैँ, त्याे गर्न सकेनाैँ विभिन्न कारणले,’ उनले भने, ‘हामी पनि कांग्रेस-कम्युनिष्टभन्दा माथि उठ्न सकेनाैँ ।’
उनले जसपा वैकल्पिक शक्तिका रूपमा आउनुपर्ने भएपनि पुरानै चिन्तनभन्दा माथि नउठेकाे बताएका छन् ।








