यस्तो छ एमालेको चुनावी रणनीति

काठमाडाैँ । स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनविरुद्ध अधिकांश ठाउँमा एक्लै लडेको प्रमुख विपक्षी दल एमालेले आगामी निर्वाचनमा भरपर्दो सहयात्री खोज्ने रणनीति तय गरेको छ । १९ असारमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले चुनावी तयारीका लागि गरेको निर्णय सर्कुलर गर्दै एमाले अध्यक्ष केपी ओलीले चुनाव जित्ने गरी भरपर्दो सहयात्रीसँग सहकार्य गर्ने स्पष्ट गरेका छन् ।

कांग्रेस नेतृत्वको पाँचदलीय सत्तारूढ गठबन्धनको विकल्पमा घोषित रूपमै अर्को गठबन्धन नबनाउने नीति लिए पनि एमालेले आवश्यकताका आधारमा राजनीतिक शक्तिहरूसँग चुनावी सहकार्यको बाटो भने खुला राखेको छ । यसबाहेक एमालेले वामगठबन्धन बनाउने विषयमा मौनता साँधेर यसलाई पर्ख र हेरका रूपमा लिएको छ ।

‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखा बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन । तर, तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्री खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ १९ असारमा ओलीले जारी गरेको सर्कुलरमा छ । तर, त्यस्तो भरपर्दो सहयात्री को हो भन्नेबारे किटान गरिएको छैन । ओली धरै नेताहरूसँग व्यक्तिगत संवादमा छन् ।

ओलीले भरपर्दो सहयात्रीको खोजी गर्ने भने पनि त्यस्तो सहयात्री राजनीतिक ध्रुवीकरण तीव्र पार्दै पार्टी प्रवेश अभियानबाट आर्जित हुने बताएका छन् । गठबन्धन रहिरहेसम्म केही गर्न सक्दैनौँ या नयाँ गठबन्धनविना अगाडि बढ्नै सक्दैनौँ भन्ने मनोविज्ञान बदल्न तथा पार्टीपंक्तिलाई आप्mनो शक्तिमाथि भरोसा दिलाउन र आत्मविश्वास बढाउन जरुरी रहेको ओलीको सर्कुलरमा छ ।

‘राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिँदै अन्य पार्टीबाट सक्दो प्रवेश गराउने नीति लिने, खासगरी निर्वाचन क्षेत्रको शक्ति सन्तुलनका आधारमा प्रतिस्पर्धाको अवस्था रहेको ठाउँमा जित सुनिश्चित गर्न र हामी अगाडि रहेको ठाउँमा जितलाई कायम गर्न पार्टी प्रवेशका ठोस र मूर्त योजना बनाई कार्यान्वयन गर्ने’ चुनावी तयारीबारेको ओलीको निर्देशनमा छ । स्थानीय चुनावमा पनि एमालेले पार्टी प्रवेश अभियान चलाएको थियो । खासगरी, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेतृत्व तहमा औपचारिक वार्ता नगर्ने तर ती पार्टीबाट नेता–कार्यकर्तालाई व्यक्तिगत रूपमा प्रवेश गराउने पुरानै रणनीतिलाई एमालेले पछ्याएको हो ।

ओलीले सत्तारूढ गठबन्धन टुट्ने सम्भावना न्यून रहेको औँल्याउँदै एक्लै लड्ने र पराजित गर्न सकिने आत्मविश्वासका साथ तयारी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । ‘आफ्नो शक्ति र सामथ्र्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने’, ओलीले भनेका छन्, ‘गठबन्धनवालाले स्थानीय चुनावबाट पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ ।’ सत्तारूढ पाँच दलको गठबन्धनमा रहेका वाम दल माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णय लिएपछि एमालेले वामगठबन्धन बनाउने विषयमा भने मौनताको नीति लिएको छ । यसलाई पर्ख र हेरको रूपमा राख्ने एमालेको योजना छ ।

स्थानीय तहको निर्वाचनमा जस्तै राजनीतिक ध्रुवीकरणलाई तीव्रता दिँदै पार्टी प्रवेश अभियानलाई पहिलो प्राथमिकतामा राखेर संघ र प्रदेश निर्वाचनको तयारी अगाडि बढाउने एमालेको योजना छ । अहिलेको सत्तारूढ गठबन्धनको विकल्प राजनीतिक ध्रुवीकरण र पार्टी प्रवेश अभियान भएको निष्कर्षसहित ओलीले त्यसैअनुसार तयारी गर्न पार्टीपंक्तिलाई १९ बुँदे चुनावी तयारीसम्बन्धी निर्देशन दिएका छन् । सत्तारूढ गठबन्धन भत्काउन सकिने, तर अहिलेको अवस्थामा एमाले सत्तास्वार्थका लागि त्यस्तो गोटी चाल्ने खेलमा सामेल नहुने प्रस्ट्याउँदै ओलीले स्थानीय निर्वाचनबाट प्राप्त मतलाई थप सुदृढ र विस्तार गर्ने गरी आफ्नै सामथ्र्यमा चुनाव जित्ने गरी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

स्थानीय तहमा एमाले एक्लैले ३४ प्रतिशत मत प्राप्त गरेकाले बहुमतका लागि बाँकी १६ प्रतिशत बढाउने गरी योजनाका साथ तयारी गर्नुपर्ने उनको जोड छ । ‘हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने, नयाँ पुस्तामा विशेष ध्यान दिने, पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने र कमजोर जनाधार भएको ठाउँमा जनाधार विस्तारमा जोड दिने’ ओलीको सर्कुलरमा छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *