अर्थतन्त्र सुधार गर्नेगरी मौद्रिक नीति ल्याउन लागेकाे गभर्नरकाे भनाइ

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले यसअघि कोरोना महामारीका बेला विभिन्न कार्यक्रम ल्याएपनि अहिले अवस्था सहज भइसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताएका हुन् ।
गभर्नर अधिकारीले पछिल्लो समय बढेको उच्च मुद्रास्फीतिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको ब्याजदर बढाएरै यसका समाधानको बाटो खोज्नुपर्ने पनि बताए ।
उनले अहिले आयात उच्च हुँदा वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेको र शोधानन्तर घाटा पनि बढ्दै गएको जानकारी दिनुभयो । गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर विषय भएको भन्दै यस विषयमा केन्द्रीय बैंक गम्भीर रहेको बताए ।
उनले रेमिट्यान्सलाई औपचारिक रूपमा भित्राउनु पनि चुनौती हुँदै गएको जिकिर गर्नुभयो । कर्जा प्रवाहमा ठूला घरानाले फाइदा लिँदा रिस्क बढेपनि यसलाई तत्कालै रोक्न नसकिने उनको भनाई छ ।
बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले सेयर धितो कर्जाको ४/१२ सम्बन्धी व्यवस्था खारेज गर्नका लागि राष्ट्र बैंकले बिचार गर्नुपर्ने बताएका थिए । साथै उनले बैंक तथा वित्तीय संस्थाहरूले प्रवाहित कर्जाको मूल्याङ्कन गर्दै सीमित व्यक्ति तथा घरानाले उपयोग भए/नभएको यकिन गर्न पनि सुझाव दिएका थिए ।








