पैसा तिर्न नसक्दा एक बालकसहित दुई जना ५५ दिनदेखि विराटनगर अस्पतालमा बन्धकजस्तै

विराटनगर ।  सुनसरीको रामधुनी नगपालिका २ तित्रिवनका मोहम्मद सगिर मियाँ आफ्ना १३ वर्षीय छोरा र अर्का ज्वाइँ पर्ने व्यक्ति सहित झापाको दमक तर्फ जाँदै थिए । वैशाख ३० गतेको निर्वाचनका लागि उनी भोट हाल्न दमकबाट तित्रिवन आफ्नो घर आएका थिए ।  उनी भोट हालेर १ गते दमक तर्फ जाँदै थिए ।

आफ्नो घर तित्रिवनबाट  बयलगाडा सहित निस्किएका उनीहरू इटहरीको पकली चोकमा दुर्घटनामा परे ।  पछाडिबाट आउँदै गरेको ना६ख४७७१ नम्बरको ट्रकको ठक्करबाट तीन जना घाइते भए भने दुर्घटनामा एउटा गोरुको मृत्यु भयो । तत्कालै घाइतेलाई उपचारको लागि विराटनगरमा रहेको विराटनगर अस्पताल प्रालिमा भर्ना गरेर  जेठ १ गते देखि नै उपचार सुरु भयो ।

घाइते भएकाहरूमा  रामधुनी नगरपालिका २ तित्रिवनका मोहम्मद सगिर मियाँ , उनका १३ वर्षीय छोरा दिलसाद मिया र उनका ज्वाइँ पर्ने मोहम्मद हसरत हुन्  । घाइतेलाई प्रहरीले एम्बुलेन्समा हालेर अस्पताल पठाएको थियो । अस्पताल भर्ना भएको असार २४ गते ५५ दिन पुगेको छ ।  आजभन्दा २८ दिन पहिला नै सगिर विराटनगर अस्पताल प्रालिबाट ६५ हजार तिरेर डिस्चार्ज भए पनि उनका १३ वर्षीय छोरा र अर्का असरत अहिले पनि अस्पतालमा छन् ।

अस्पतालले डिस्चार्ज गरेर लैजा भनेको अस्पताल भर्ना गरेको ७ दिन पछि नै हो । तर पैसा अभावको कारण उनले त्यहाँबाट डिस्चार्ज गर्न नसकेको बताए । अस्पतालमा बसेको, औषधी खरिद गरेको र होटेलमा खाना खाएको करिब ४ लाख खर्च भइसकेको सगिर बताउँछन् ।

आफू डिस्चार्ज भएर छोरा र ज्वाइँ पर्ने हसरतलाई अस्पतालमा नै छाडेर उनी डिस्चार्ज भए तर आफ्नै छोरा अस्पतालबाट निकाल्न सकेनन्  । अस्पतालले पनि पैसा नतिर्दासम्म ती दुवै जनालाई अस्पतालबाट बाहिर निस्कन दिएको छैन । एकपटक ती बच्चा भागेर हिँडेको भए पनि बाहिरबाट अस्पताल प्रशासनले कर्मचारी लगाएर फेरि भित्र लगेर राखेको उनी सुनाउँछन्  ।

शुक्रवार दिउँसो करिब २ बजे अस्पतालमा पुग्दा त्यहाँ २ जना नै बेड नम्बर २२ र २३ मा थिए । अस्पतालमा त्यहाँ बसेको बेड चार्ज न्यूनतम पनि एउटा बेडको २ हजार पर्ने अस्पताल प्रशासन बताउँछ । यतिका लामो समयसम्म अनाहकमा अस्पतालमा राखिदिँदा आर्थिक  अवस्था कमजोर हुनेहरू थप आर्थिक संकटमा पर्ने र दुर्घटनाबाट नै घाइते हुँदा पनि उपचार गराउने सवारी धनी उपचारको रकम तिर्न नसक्ने अवस्थामा पुग्ने गरेको घटनाहरू आउने गरेको भए पनि यो घटनाले थप पुष्टि गरेको छ।

अस्पतालमा अहिले दिलसाद आलमको नाममा १ लाख २२ हजार ८ सय ७८ रुपैयाँ तिर्नु पर्ने देखिन्छ भने मोहम्मद हसरतको नाममा २ लाख १५ हजार ८ सय १८ रुपैयाँ तिर्न बाँकी रहेको अस्पताल प्रशासन बताउँछ । यो लामो समयसम्म अस्पतालमा नै नराखेको भए पनि डिस्चार्ज गरेर जाऊ भनेको समयमा एक लाखको हाराहारीमा मात्र बिल तिरेको भए अहिलेको जस्तो समस्या नआउने अस्पतालका ओपिडी इन्चार्ज सुनिल पोखरेल बताउँछन् ।  ‘हामीलाई पनि कोही अस्पतालमै बसिदिए हुन्थ्यो भन्ने छैन’,  उनले भने, ‘अस्ति नै देखि पैसा तिरेर जाऊ भनेर डिस्चार्ज दिएको उनीहरू डिस्चार्ज लिएर जानै मान्दैनन् ।’

सवारी धनी सम्पर्कमा आउँदैनन्

अस्पतालले बिरामीलाई लैजा भनेर हरेक दिन बिरामीका आफन्तलाई भन्दै आएको भए पनि आफन्तले पैसाको अभाव देखाउँदै त्यहाँबाट डिस्चार्ज गर्न सकेका छैनन् । सवारी धनीले अस्पताल भर्ना भएको एक महिना पछि केही रकम दिएको भए पनि त्यसबाट उपचार गराइरहेकाहरू निस्कन सक्ने अवस्था नभएको  सगिर बताउँछन्  ।

उसले दिएको रकममा २० हजार औषधीको तिरेको, ३४ हजार होटेलको तिरेको तथा ७५ हजार अस्पतालमा उपचारको क्रममा धरौटीमा रहेको उनले सुनाए । ‘हजुर म गरिब छु, त्यहाँबाट निकाल्न सक्ने अवस्था छैन’, सगिरले भने, ‘अस्पतालमै भएको कारण मेरो छोरा विद्यालय पनि जान पाएको छैन ।’

अस्पतालले भर्ना भएको ४–५ दिनमा नै डिस्चार्ज गरेर जान भनेको थियो । त्यो बेला करिब १ लाख जति अस्पतालमा थियो । गाडी धनीले तिर्छु भन्यो उनीहरू आउला तिर्ला र डिस्चार्ज भएर जाउँला भनेर पर्खिएर बसे ।  झण्डै एक महिना पछि मात्र केही रकम दियो । प्राप्त भएको रकमबाट सगिर आफू डिस्चार्ज भएर निस्किए पनि छोरालाई त्यहाँबाट निकाल्न सक्ने रकम उनमा थिएन ।

दिन बित्दै गयो खर्च बढ्दै जान थाल्यो त्यसपछि गाडी धनीले पठाएको रकमले पनि त्यहाँ पुगेन ।  जब डिस्चार्ज हुन सक्ने अवस्था थिएन त्यसपछि उनले पटक पटक गाडी धनीलाई फोन गरेर डिस्चार्ज दिन भने तर त्यसको पनि सुनुवाइ सवारी धनीले गरेनन् । आजको मितिसम्म  आउँदा सवारी धनी सम्पर्कविहीन भएका छन्  ।

सुरुमै भागेको थियो गाडी

दुर्घटना गराएको सवारी त्यहाँबाट भागेर बेलवारीबाट प्रहरीले फेला पारेको थियो । बेवारिसे अवस्थामा फेला परेको गाडीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

बेलवारीबाट नियन्त्रणमा लिएको सवारी धनीको बारेमा जानकारी लिने क्रममा प्रहरीले यातायात व्यवस्था कार्यालयबाट सवारी धनी पम्फा भण्डारी रहेको फेला पार्‍यो ।  उनीहरूको घर रुपन्देही भएको प्रहरीले जनाएको छ ।

पम्फाले त्यो गाडी रञ्जित सिंह भन्नेलाई बेचिसकेकोले अहिले प्रहरीले सञ्जित सिंह भन्ने व्यक्तिलाई खोजीको सुचीमा राखेको छ।  ३ लाख ५० हजार बिरामीलाई दिएको भए पनि त्यसबाट बिरामीका आफन्त निस्कन सक्ने अवस्था नभएको तथा दुख दिएर फरार रहेको पाइएपछि रञ्जित सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार भइसकेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी नायव निरीक्षक उमेश केसीले जानकारी दिए ।

बिरामीहरू अहिले अस्पतालमा पैसा तिर्न नसकेर बन्धकजस्तै जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *