जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यवस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो ।

सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको छ । जनकपुरमा हाल आन्तरिक सँगै छिमेकी देश भारतबाट समेत दैनिक हजारौंको संख्यामा यात्रु आवतजावत गर्दै आएका छन् ।

बसपार्कको सहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । मन्त्री चौधरीले सम्झौता बमोजिम १५ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

बसपार्क परिसरमा बस पार्किङ स्थलसँगै सार्वजनिक शौचालय, टिकट काउण्टर तथा चमेना गृह, तीन वटा प्रतीक्षालय, २५ वटा कार तथा ५० मोटरसाइकल अस्थायी पार्किङ, १२५ स्थायी पार्किङ क्षेत्र, १.५ मिटर चौथाई र २२०० मिटर लामो फुटपाथ, आरसीसी पार्किङ क्षेत्र, आगमन प्रस्थानका लागि अस्फाल्ट सडक पहिलो चरणमा निर्माण हुनेछ ।

जनकपुरधाम-२३ मा रहेका ४ विघा जग्गामा बसपार्क निर्माण हुनेछ । आयोजनाले बसपार्क निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

बसपार्क शिलान्यास कार्यक्रममा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महताे, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह र माँ जानकी जनकपुरधाम यातायात प्रा.लिका अध्यक्ष मनोज चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *