माओवादी केन्द्रमा महासचिवको दौड, कसले मार्ला बाजी ?

काठमाडौँ । पदाधिकारीको तयारीको नाममा दुई दिन स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यतिबेला जारी छ । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न दुई दिन आन्तरिक तयारी गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भवतः आज पदाधिकारी टुंगो लगाउने स्रोतको दाबी छ ।

गत पुसमा महाधिवेशन सम्पन्न गरे पनि माओवादी केन्द्रले हालसम्म पदाधिकारीसमेत टुंगो लगाउन सकेको छैन । पदाधिकारीमा आकांक्षी बढी भएका कारण नै सर्वसम्मत हुन नसक्दा पदाधिकारी टुंगिन बाँकी रहेको हो । माओवादी केन्द्र सर्वसम्मत पदाधिकारी टुंगो लगाउन कसरत गरिरहेको छ, तर आकांक्षी धेरै भएका कारण अध्यक्ष प्रचण्डले समेत फाइनल गर्न सकिरहेका छैनन् ।

अध्यक्ष प्रचण्डले पदाधिकारी टुंगो लगाउन नसकेकै कारण बैठक दुई दिन स्थगित भएको देखिन्छ । माओवादी केन्द्रमा अध्यक्षपछि सबैभन्दा ‘पावरफुल’ पद भनेको महासचिव हो । अध्यक्ष प्रचण्डको अत्यन्तै निकट रहेका दुइटै नेता जनार्दन शर्मा र वर्षमान पुनले महासचिवको दाबी गरेका छन् । आफ्ना अत्यन्तै नजिकका दुई पात्रले महासचिवमा दाबी गरेपछि अध्यक्ष प्रचण्ड नै सकसमा परेका माओवादी एक केन्द्रीय सदस्यले बताए ।

ती केन्द्रीय सदस्यका अनुसार अध्यक्षका दुई विश्वासपात्रले एकै पदमा दाबी गरेका छन्, अध्यक्ष दुबैलाई सँगसँगै लिएर हिँड्न खोजेका छन् । यस्तो अवस्थामा महासचिवको नाम सार्वजनिक गर्न उहाँलाई केही संकोच बढेको देखिन्छ ।

यसअघि वर्षमान पुन बिरामी भएर चीन उपचार गर्न गएकै कारण अध्यक्ष प्रचण्डले यहाँ पदाधिकारी टुंगो लगाउन नसकेका ती नेता बताउँछन् ।

उनले भने, ‘नेता पुन र शर्मा दुवैले महासचिवमा दाबी गरेका हुनाले अध्यक्ष प्रचण्डले दुबैलाई मिलेर एक जना महासचिवमा आउन अनुरोध गर्नुभएको छ, तर दुवैले दाबी नझिकेको अनुभव हामीलाई भएको छ, यस्तो अवस्थामा अध्यक्षले तेस्रो व्यक्तिलाई पनि महासचिव बनाउन सक्नुहुन्छ ।’

महासचिवमा पुन र शर्माबाहेक अन्य नेताहरूले पनि आकांक्षा देखाएका छन् । पम्फा भुसाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत पनि महासचिवको आकांक्षी बनेका छन्, तर उनीहरूले नेता पुन र शर्मा जसरी आफूलाई महासचिवको लबिङमा भने दौडाएका छैनन् ।
नेता जनार्दन शर्माले महासचिवमा आफूलाई थप बलियो बनाउने देखिएको छ ।

उनले अर्थमन्त्रीबाट राजीनामा घोषणासँगै माओवादीको सांगठनिक जिम्मेवारीमा आफ्नो दाबी गर्ने सम्भावना थप बढेको माओवादी केन्द्रका अर्का नेता बताउँछन् । ती नेता भन्छन्, ‘सांगठनिक निर्माणमा जनार्दन शर्माको राम्रो छ, उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको छ, अब महासचिवको जिम्मेवारी लिन्छु भन्ने स्वाभाविक र सुहाउँदो देखिन्छ ।’

यता वर्षमान पुनले छानबिन समितिले निर्दोष ठहर गरे फेरि अर्थमन्त्रीमा जनार्दन शर्मा हुने बताएका छन् । नेता पुनको भनाइप्रति लक्षित गर्दै माओवादीका एक नेता भन्छन्, ‘महासचिवमा नेता पुनले तीव्र आकांक्षा देखाएका छैनन्, अध्यक्षले पुनलाई नै महासचिवमा सिफारिस गरे पनि कुनै नौलो हुँदैन ।’

नेता पुनसँग नजिक भएका एक नेता भन्छन्, ‘महासचिवको जिम्मेवारी पाए वर्षमान पुनले राम्रोसँग हाँक्न सक्छन् ।‘ ती नेताका अनुसार अध्यक्ष प्रचण्डले सबै नाम तयार पारिसक्नुभएको छ, बैठकमा पदाधिकारीको नाम पेस हुन्छ । पदाधिकारीको जिम्मा सबै अध्यक्ष प्रचण्डलाई दिइएको छ, बैठकमा नाम पेस भएपछि सबै नेताहरूले स्विकार्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *