युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरूका बिचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिएका छन् ।
उनले मङ्गलवार ट्विट गर्दै आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।
त्यस वार्ताका क्रममा आफूले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिएको पनि बताउनुभएको थियो । बेलायत सरकारले हालै मात्र गरेको एक निर्णयमा युक्रेनलाई १.२ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सहयोग गर्ने निर्णय गरेको थियो ।
त्यसैका लागि आफूले बेलायत सरकारलाई धन्यवाद दिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिएका हुन् । सो वार्तामा उनीहरूका बिचमा विश्वमा देखा परिरहेको खाद्यान्नको अभाव र युक्रेनका लागि आवश्यक सहयोगका विषयमा पनि कुराकानी भएको थियो ।
साथै आगामी वर्ष बेलायतले युक्रेनको पुनर्निर्माणसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ । त्यसका लागि पनि आफूले बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको राष्ट्रपति जेलिन्स्किीले जानकारी दिएको समाचारमा जनाइएको छ ।








