सडक मानवमुक्त अभियान चलाउँदै विराटनगर, अधिकांश भारतीय ‘मगन्ते’

विराटनगर। विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिक स्थलमा बसेर भिख मागेर खानेहरूलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो ।

भारतीय नागरिकसमेत मन्दिर र सार्वजनिक स्थलहरूमा आएर भिख माग्ने प्रवृत्ति बढेपछि महानगरले सडक मानवमुक्त अभियान सञ्चालन गरेको मेयर नागेश कोइरालाले बताए । उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि भिख माग्न बस्ने गरेका छन् ।
अशक्त र सहाराविहीनहरूलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । ‘काम गरेर पनि खान सक्ने व्यक्तिहरू पनि भिख माग्ने लाइनमा बसेको देखियो । यो समाजका लागि ठीक होइन । काम गर्न सक्नेले त काम गरेर खानु पर्‍यो नि, कोइरालाले भने, अर्कातिर यसरी सडक नै ढाकेर माग्न बस्दा सहरको सभ्यता अनि सौन्दर्यतामै ह्रास आउँछ, त्यही भएर उनीहरूको उद्धार गरिएको हो ।’

सहाराविहीन र काम गर्न नसक्नेहरूका लागि थुप्रै आश्रमस्थल रहेको बताउँदै मेयर कोइरालाले भारतबाट समेत हुलका हुल भीख माग्नेहरू आउन थालेका कारण कडाइ गरिएको बताए । काम गर्न सक्ने र सहारा भएकाहरूलाई अब आइन्दा भिख नमाग्ने शर्तमा छाडिएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

विराटनगरस्थित काली मन्दिर र शनि मन्दिरका साथै सार्वजनिक स्थलहरूबाट हालसम्म दुई दर्जनभन्दा बढीको उद्धार गरिएको पौडेलले जानकारी दिए ।  काम गर्न नसक्ने र सहाराविहीनलाई मानव सेवा आश्रमको जिम्मा लगाइएको उनले बताए । उद्धारका लागि महानगर प्रहरी पुग्दा धेरै व्यक्ति भागेको पौडेलले बताए । यसैबीच, महानगरले फुटपाथ खाली गर्ने अभियानलाई पनि तीव्रता दिएको छ ।

नाली नै जाम हुने गरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ । त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिने कार्य पनि महानगरले अघि बढाएको छ । खसी, बाख्रा, गाई, भैंसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशु धनीलाई बुझाइएको महानगर प्रहरी निरीक्षक पौडेलले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *