गठबन्धनको समस्यालाई सामान्य रूपमा लिनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबिचको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् ।
मंगलबार गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको कोइरालाको सालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र पनि समस्या हुने गरेको भन्दै विभिन्न पार्टी मिलेर बनेको गठबन्धनभित्रको समस्या हुनु स्वाभाविक भएको बताएका हुन् ।
त्यस्तै, प्रधानमन्त्री देउवाले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजा प्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरे । कठिन राजनीतिक आरोह, अवरोह पार गरेका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । प्रधानमन्त्री देउवाले कोइरालाले मजदुर आन्दोलन सुरु गरेका विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए ।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको स्मरण गरे ।
त्यस्तै, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदुरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।








