प्रचण्डले केन्द्रीय कमिटी बैठक किन गरे स्थगित ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थगित गरेका छन् ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक अचानक अध्यक्ष प्रचण्डले स्थगित गरेर भोलिलाई सारे । अध्यक्ष प्रचण्डले आजको बैठकमा स्पष्टीकरण दिनुपर्ने अवस्था थियो ।

प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम भएकै दिन किन उनले बैठक स्थगित गरे भन्ने विषयले अहिले चर्चा पाएको छ । नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार पदाधिकारी चयनमा उहाँ (प्रचण्ड)लाई ठूलो दबाब थियो । ती नेता भन्छन्, ‘पदाधिकारी चयनमा चर्को दबाब थेग्न जटिल परेका कारणले पनि उहाँले आजको केन्द्रीय बैठक स्थगित गर्नुभएको हुनसक्छ ।’ आन्तरिक तयारी पनि नपुगेर आजको बैठक स्थगित भएको हुनसक्ने उनी बताउँछन् ।

नेकपा माओवादी केन्द्रले लामो समयदेखि पदाधिकारी चयन गर्न सकेको छैन । जसका कारण अध्यक्ष प्रचण्डमाथि पदाधिकारी चयनमा ठूलो दबाब छ ।

माओवादी केन्द्रका अर्का एक केन्द्रीय सदस्यले भने, ‘पदाधिकारी चयनमा यति धेरै विलम्ब गर्न हुन्थेन, आकांक्षीहरू धेरै भएका कारण अध्यक्षलाई मिलाउन हम्मे भइरहेको छ, यसकै तयारीको लागि आजको बैठक स्थगित भएको हो ।’

आज बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष प्रचण्ड आफैँले तयारीको लागि भन्दै भोलि १ बजेको लागि सारिएको हो । पदाधिकारी चयन गर्नको लागि सबैलाई मिलाएर लैजान गृहकार्यको लागि बैठक स्थगित भएको हो, अरू कुनै कारण नभएको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका एक नेताले बताए ।

माओवादी केन्द्रले पदाधिकारी चयन मात्र होइन, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्न पनि सकिरहेको छैन । पछिल्लो समय पदाधिकारी गठन गर्न नसक्ने माओवादी केन्द्र थप आलोचित बन्नुपरेको छ ।

सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरूले पदाधिकारी चयनका लागि अध्यक्ष प्रचण्डमाथि ठूलो दबाब दिएका थिए । उनीहरूले पोलिटब्युरो र स्थायी कमिटी गठनको लागि पनि अध्यक्ष प्रचण्डलाई दबाब दिएका थिए । पदाधिकारी, पोलिटव्युरो र स्थायी कमिटी गठनमा केन्द्रीय समितिले जोडतोडका साथ उठाएपछि प्रचण्डले आजको बैठक स्थगित गरेर आन्तरिक गृहकार्यमा लागेको बताइएको छ ।

बैठक स्थगित गरेर नेकपा माओवादी केन्द्रका प्रचण्डले खुमलटारमा आन्तरिक छलफल थालेका छन् । पार्टीका पदाधिकारी चयन, स्थायी तथा पोलिटब्युरो लगायतका सांगठनिक विषयमा खुमलटारमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *