तेह्रथुम ढाका कपडाको राजधानी घोषणा

विराटनगर । प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमलाई ढाका कपडाको राजधानी तोकिएको छ । ढाका कपडा उत्पादन थालेको ३९ वर्षपछि सोमबार तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाका कपडाको राजधानी घोषणा गरेको छ । आजभन्दा करिब ३९ वर्ष अगाडि देखि तेह्रथुममा ढाका कपडा बुन्ने र बनाउने काम थालिएको थियो । हाते तान बाट बुनिने भएकाले पनि तेह्रथुमे ढाका प्रतिको आकर्षण बढ्दो छ । व्यवसायी रामसिंह आलेले ढाका कपडा बुनेर नै धेरैले आफ्नो जीविकोपार्जन परेको बताए ।

म्याङ्लुङ नगरपालिका भित्र मात्रै ४ हजार ५ सय भन्दा बढिले ढाका उद्यमबाट रोजगारी पाएको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जय तुम्बाहाम्फे जानकारी दिए । ढाका बुन्नेहरूमा अधिकांश महिला छन् । तेह्रथुमे ढाकाको कपडा  नेपालमा मात्रै नभई विदेशमा पनि निर्यात हुँदै आएको उनी बताउँछन् ।

ढाकाको राजधानी तोकिएसँगै सीप विकास, प्रविधिलाई जोड दिँदै  बजारीकरणमा पनि सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले बताए  । यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । १ हजार भन्दा बढी उद्योग भने विना दर्ता सञ्चालनमा रहेको कार्यालयको अनुमान छ । तेह्रथुममा ढाका कपडा बुनाइ सम्बन्धी तालिम लिनेको सङ्ख्या १० हजार भन्दा बढी छ ।

बेलायती नागरिक सुसी डान्स्मोरले सन् १९८३ मा लगातार तीन वर्षसम्म  तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेकी थिइन । उनले ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रङ्गको छनोट गरिदिएपछि तेह्रथुममा ढाका कपडा बुन्नेहरू आकर्षित भएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *