डा. सुनिल शर्मा दम्पती सम्मानित, मुख्यमन्त्रीले गरे प्रशंसा
‘खेलाडीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएकोमा शर्मा दम्पतीलाई सम्मान गरिएको हो’

विराटनगर । काठमाडौँ मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा दम्पती सम्मानित भएका छन् । खेलाडीहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाएर सहयोग पुर्याएको भन्दै डा. शर्मा र नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक इन्दिरा शर्मा बराललाई सम्मान गरिएको हो ।
प्रदेश १ खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोर्ड र ओलम्पियन्स एसोसिएसनको तर्फबाट डा. शर्मा र बराललाई सम्मान गरिएको हो । विराटनगरस्थित नोबेल अस्पताल र काठमाडौँको सिनामंगलस्थित केएमसीले ओलम्पिकमा सहभागी नेपाल भरका सबै खेलाडी तथा साफ र एसियन खेलकुदमा सहभागी प्रदेश १ का खेलाडीहरूको निःशुल्क उपचार गर्ने गरी सोही कार्यक्रममा सम्झौता भएको थियो ।
खेलाडीका परिवारका सदस्यलाई पनि ५० प्रतिशत छुटमा उपचार गर्ने गरी बोर्ड र एसोसिएसनले नोबेल र केएमसीसँग सम्झौता गरेका हुन् । सम्झौतापछि डा. शर्मा र बराललाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले डा. शर्मा र बराललाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले नेपाली खेलाडीको उपचार गर्न चन्दा उठाउनुपर्ने अवस्था रहेको प्रति दुख व्यक्त गर्दै खेलाडीको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति नोबेल र केएमसीलाई धन्यवाद ज्ञापन गरे । उनले शर्मा दम्पतीको जस्तो फराकिलो छाती भएकाहरूको सहयोगले खेलाडीहरूको उपचारमा सहजता मिलेको भन्दै उनीहरूको प्रशंसा गरे ।
केएमसीका कार्यकारी अध्यक्ष डा. शर्मा र नोबेल अस्पतालका प्रबन्ध निर्देशक बराल श्रीमान्–श्रीमती हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा दम्पतीले खेलाडीहरूलाई दुवै अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति शर्मा दम्पतीको प्रशंसा गरेका थिए । सो अवसरमा सामाजिक विकास मन्त्री राजन राई, प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले, ओलम्पियन्स एसोसिएसनका अध्यक्ष विष्टलगायतले पनि डा. शर्मा दम्पतीको खुलेर प्रशंसा गरेका छन् ।









सरकारले गर्न नसक्ने काम डा. शर्मा दम्पतिले खेलाडीहरुकाे नि:शुल्क उपचार गरेर देखाउनु प्रशंसनिय काम हाे।जय नेपाल ।