डेनमार्कको भव्य सपिङ मलमा गोलाबारी : तीन जना मारिए, तीन गम्भीर
काठमाडाैँ । डेनमार्कको सबैभन्दा ठूलो सपिङ मलहरू मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन् । अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आम मानिसमा आतङ्क फैलाउने आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ । प्रहरी प्रमुख सोरेन थोमसेनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई आतङ्कवाद सम्बन्धी कार्य होइन भन्न नसकिने बताए ।
आक्रमणका शङ्कास्पदलाई पक्राउ गर्दा उनको हातमा राइफल र गोलाबारी रहेको प्रहरीले जनाएको छ । सन्दिग्धसँग सोमवार न्यायाधीशले सोधपुछको गर्ने बताइएको छ । प्रहरीका अनुसार उनीसँग अन्य आक्रमणकारीहरू संलग्न रहेको कुनै सङ्केत भेटिएको छैन र पसल सञ्चालकहरूलाई उनीहरूसँग हुन सक्ने कुनै पनि भिडिओ फुटेज सुरक्षित गर्न आग्रह गरिएको छ ।
फिल्ड्स मलमा १४० भन्दा बढी पसल र रेस्टुराँहरू छन् । थुप्रै तलाको यस मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको छ ।
डेनमार्कमा पछिल्लो पटक सन् २०१५ मा एउटा ठूलो आतङ्ककारी घटना भएको थियो । कोपेनहेगनको एउटा सांस्कृतिक केन्द्र तथा सभा घरमा भएको त्यस आक्रमणमा दुई जनाको मृत्यु भएको थियो र छ जना प्रहरी अधिकारीहरू घाइते भएका थिए । त्यति बेला बन्दुकधारी मानिस प्रहरीसँगको गोली हानाहानमा परी मारिएका थिए । -बीबीसी