पासपोर्ट बनाउन काठमाडौँ नआउनुस्, १५ दिनमा जिल्लामै पठाउँछाैँ : राहदानी विभाग

काठमाडौँ । राहदानी विभागले सेवाग्राहीहरूलाई पासपोर्ट बनाउन काठमाडौँ नआउन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरूबाट आवेदन भएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताउँदै अत्यावश्यक बाहेक पासपोर्ट बनाउन काठमाडौँ नआउन आग्रह गरेको हो ।

विभागले सूचनामा भनेको छ, ‘काठमाडौँ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ । अत्यन्त जरुरी परेका सेवाग्राहीहरूले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’

बिदाको दिनमा समेत राहदानी उपलब्ध गराइरहेको भन्दै विभागले भनेको छ, ‘विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको छ । साथै, विभागले सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीहरूलाई सेवा दिएको छ । राहदानी विभागले प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको बताएको छ ।’

त्यस्तै, राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरूलाई सेवा दिइरहेको विभागको दाबी छ । विभागले हाल दैनिकरूपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जानकारी पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *