सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच आज भेटवार्ता भएको छ ।

अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलन सफल रूपमा आयोजना गरेकोमा बधाई ज्ञापन गरेका छन् । उनले असंलग्न आन्दोलनका आदर्श महत्वपूर्ण भएको उल्लेख गर्दै यसका आदर्श र एजेन्डाप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीको समाधान गर्न सकिने धारणा राखेका छन् । अजरबैजानसँग नेपालको लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उनले २०७२ सालको भूकम्प पछिको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरेका छन् । यसअघि, स्पेनमा भएको अन्तर व्यवस्थापिका सङ्घको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद् तयार रहेको बताएका छन् ।

सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी छन् । बाकुमा जारी सम्मेलनमा सहभागी हुन यही असार १४ गते त्यसतर्फ प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल यही असार १९ गते साँझ नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *