एमालेको सामाजिक सेवा केन्द्रद्वारा बाढी पीडितलाई राहत वितरण शुरु

विराटनगर । नेकपा एमालेले तीन महिनाअघि गठन गरेको सामाजिक सेवा केन्द्रले बाढी पीडितहरूलाई राहत वितरण गर्न शुरु गरेको छ । केही दिनदेखि आएको बाढीले मोरङका विभिन्न ठाउँमा घरबारविहीन भएकाहरूलाई आज सामाजिक सेवा केन्द्रका संयोजक मोती दुगडले राहत वितरण गर्नुभएको हो ।

दुगडका अनुसार मोरङको विराटनगर, बुढीगंगा, टंकीसुनुवारी, कटारी लगायतका दर्जनौँ बाढी पीडितलाई राहत वितरण गरिएको छ । खाद्य पदार्थ,लत्ता कपडा र घर निर्माणका सामग्री समेत वितरण गरिएको दुगडले जानकारी दिए । तीन महिना अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सामाजिक सेवा केन्द्रले अब देशैभरका बाढी पीडितलाई राहत र उद्धारका प्याकेज लैजाने जनाएको छ ।

‘आपत्तकालिन उद्धार र राहतका लागि हामी तयारी अवस्थामा छौँ । देशका विभिन्न ठाउँबाट पार्टी र अन्य च्यानलबाट पनि हामीलाई सहयोगको माग भएको छ’ एमाले केन्द्रीय सदस्यसमेत रहेका दुगडले भने ‘हाम्रो प्रयास प्राकृतिक प्रकोपबाट उत्पन्न समस्याले कसैको पनि ज्यान जोखिममा नपरोस् भन्नेमा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *