स्थानीय तह निर्वाचनको समीक्षा, मतदाता शिक्षा नदिँदा मत बदर बढ्यो

विराटनगर । स्थानीय तहमा भएको बदरको मतलाई आधार बनाएर निर्वाचन अनुगमन गर्ने संघ संस्थाले आगामी दिनमा निर्वाचन आयोगले सुधार गर्नु पर्ने बताएका छन् । बदर मत सुधार गर्नको लागि निर्वाचन आयोगले अहिले देखि नै आफ्नो योजना केन्द्रित गर्नु पर्ने बताएका छन् ।
शान्तिकालागि साझा अभियान कोकापले स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा विराटनगरमा आयोजना गरेको प्रादेशिक समीक्षा कार्यक्रममा सहभागीहरूले निर्वाचनलाई भयरहित रूपमा सम्पन्न गर्न मेहनत भएको देखिएपनि बदर मत व्यवस्थापनमा आयोगले भूमिका बढाउनु पर्ने बताएका हुन् ।
स्थानीय तह निर्वाचनमा तीन दर्जन भन्दा बढी संघ संस्थाहरूले निर्वाचनको पर्यवेक्षण गरी सोको प्रारम्भिक पैतिवेदन निर्वाचन आयोग समक्ष पेश गरी सकेको भएपनि आगामी दिनमा निर्वाचन लक्षित योजना निर्माणको लागि समीक्षाले भूमिका खेल्ने बताए । स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्ने संस्था, नागरिक समाज र पत्रकार लगायतले निर्वाचन भय रहित रूपमा सम्पन्न भएपनि निर्वाचनको सन्दर्भमा धेरै विषयहरू सुधार गरेर जानु पर्ने अवस्था रहेको बताए ।
मानव अधिकार आयोग प्रदेश १ कार्यालयका प्रमुख निरु बर्तौलाले मतदान केन्द्र अत्यन्त समस्याग्रस्त रहेको बताइन् । आयोगले धेरै निर्वाचन केन्द्रहरूको विकल्प पनि खोज्नु पर्ने अवस्था रहेको बताइन् । उनले निर्वाचन आयोगले एक चरणमा मात्र निर्वाचन सम्पन्न गर्दापनि चलखेल गर्न नपाउँदा निर्वाचन शान्तिपूर्ण रूपमा भएको विश्लेषण गर्न सकिने उनको तर्क छ ।
कतिपय अवस्थामा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको कारण धेरै मतहरू बदर हुने तर उम्मेदवारले दुई-चार मतको फरकमा हारेको पाइएको पनि बताए । त्यस्तो अवस्थामा जिम्मेवार नबन्ने कर्मचारीलाई कारबाही गर्नु पर्ने बताएका छन् ।
पत्रकार यज्ञ शर्माले दलहरू प्रति केही चुनौती पनि थपेको बताए । ठुला भनिएका शहरहरूमा स्वतन्त्र उम्मेदवारको विजयले पनि दलहरूलाई सच्चिनु पर्ने खालको चुनौती स्थानीय तहको निर्वाचनले गरेको बताए । गैरसरकारी संस्था महासंघका उमेश विश्वकर्माले दलहरूले आफ्नो भोट माग्ने बाहेकका कुनै पनि मतदाता शिक्षा नदिइएको सुनाए । मतदाता शिक्षामा आयोगले ध्यान दिनु पर्ने बताए ।
स्थानीय तहको निर्वाचनमा २०७४ सालमा जितेका उम्मेदवार यो पटकको निर्वाचनमा केही बाहेक धेरै पराजित भएको सहभागीले बताएका थिए । सिविनका कार्यक्रम संयोजक बासु अधिकारीले मनोनयन दर्ताको दिन दलहरूले विद्यालय पोसाकमा नै बालबालिकालाई झण्डा बोकाएर ल्याएको सुनाए । यो पटकका स्थानीय तहको निर्वाचनमा पनि बालबालिकाको प्रयोग नरोकिएको सुनाए । तर अघिल्लो निर्वाचनमा भन्दा बालबालिकाको प्रयोग भने घटेको बताए ।
कोकापका कार्यक्रम संयोजक राजकुमार बुढाले स्थानीय तह निर्वाचन, निर्वाचन परिणाम लगायतको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष राजनारायण यादव, कोकाप संस्थाका प्रकाश परियारले संस्थाले निर्वाचन लक्षित गरेका कार्यको बारेमा जानकारी गराएका थिए ।









