बाबुरामको संकट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरू हेरफेर गरेपछि जनता समाजवादी पार्टीमा पनि मन्त्री हेरफेरको विषय चर्को रूपमा उठेको छ । तर, यही विषयले पार्टीको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी विवादको चरम उत्कर्षमा पुग्दै गर्दा डा.बाबुराम भट्टराईको राजनीति के होला भन्ने चासो बढेको छ । हाल जसपामा सङ्घीय परिषद् अध्यक्ष रहेका भट्टराई सक्दासम्म जसपाको बहुमत आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।

यसो गर्न सक्दा उनको राजनीतिक भविष्य सहज रूपमा अगाडि बढ्ने देखिन्छ । अन्यथा फेरि उनले नयाँ जोखिम लिनुपर्ने हुन सक्छ । बाबुराम पक्षधर नेताहरूको भनाइमा फेरि नयाँ पार्टी गठन गरेर अगाडि जानेतिर डा. भट्टराईले सोच्नुपर्ने हुन्छ । त्यसका लागि समेत तयार भएर डा. भट्टराईले जसपामा आफ्नो भूमिका खोजेका छन् ।

शान्तिपूर्ण राजनीतिबाट भन्दा छिटो सशस्त्र युद्धबाट परिवर्तन सम्भव हुने विश्वासका साथ २०५२ सालबाट जनयुद्ध शुरु गर्दै सशस्त्र युद्धमा होमिएका डा.बाबुराम भट्टराई शान्ति प्रक्रियापछि आफैँ प्रधानमन्त्री भएर देशको कार्यकारी प्रमुखको जिम्मेवारी निर्वाह गरे । तर, उनैले नेतृत्व गरेको सरकारले संविधान घोषणा गर्न नसकेको अपजस लिनुपर्‍यो । दोस्रो संविधान सभाबाट २०७२ साल फागुन ३ गते संविधान जारी हुँदा सम्म नेकपा माओवादीमा रहे डा. भट्टराई ।

संविधान जारी भएपछि माओवादी नेतृत्व प्रचण्डबाट पार नलाग्ने भन्दै माओवादी पार्टीसँगै कम्युनिस्ट विचार नै त्यागेको घोषणा गरे । माओवादी छाडेको करिब एक वर्षपछि  २०७३ साल जेठ ३० गते ‘नयाँ शक्ति’ पार्टीको को घोषणा गरे । तर, नयाँ शक्ति पार्टीले २०७४ सालको चुनावमा अपेक्षित परिणाम ल्याउन सकेन । आफूले सोचे जस्तो पार्टी र चुनावी नतिजा नआएपछि डा. भट्टराईले २०७६ साल वैशाख २३ गते सङ्घीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाए । पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादवलाई राखेर आफू दोस्रो तहको नेतृत्व सङ्घीय परिषद् अध्यक्ष बस्न तयार भए ।

समाजवादी पार्टी बनाएको एक वर्षमै २०७७ वैशाख १० गते सबै मधेस केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी(जसपा) निर्माण भयो । तर त्यो एकता पनि लामो समय टिक्न सकेन । अहिले यो दलबाट पूर्व राजपा छुट्टिएर लोकतान्त्रिक समाजवादी फोरम बनाइसकेको छ । जसपामा बाबुराम नै सङ्घीय परिषद् अध्यक्षकै हैसियतमा छन् ।

तर, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव एकलौटी रूपमा अगाडि बढेकोले समस्यामा छन् डा. भट्टराई । राष्ट्रिय सभाको चुनाव र स्थानीय तहको चुनावमा यादवले एकलौटी रूपमा उम्मेदवारहरू तय गरेको भन्दै डा. भट्टराई पक्ष असन्तुष्ट छ । नेताहरूका अनुसार असन्तुष्टि पार्टी फुटसम्म जान सक्छ । पार्टी फुटाउनु पर्दा डा.भट्टराईले फेरि नयाँ पार्टी गठन गरेर जानुपर्ने अवस्था आउन सक्छ । किनभने जसपामा डा.भट्टराईसँग देखिनेगरी बहुमत छैन । तर, उनको प्रयत्न जसपामा बहुमत पुर्‍याfउने वा उपेन्द्र यादवलाई साइजमा राखेर आफ्नो राजनीतिक भविष्यलाई सहज बनाइराख्ने प्रयास डा. भट्टराईको देखिन्छ ।

आफू राजनीतिक रूपमा सङ्कटमा पर्न सक्ने आकलन गरेर नै डा. भट्टराईले प्रचण्डसँग भेटेका छन् । प्रचण्डबाट पार नलाग्ने भनी पार्टी छोडेर हिँडेपछि उनले प्रचण्डसँग पार्टी एकताकै विषयमा केन्द्रित रहेर छलफल गरेका थिएनन् । तर, बिहीबारको भेटमा डा.भट्टराईले कम्युनिस्ट समेत मिलेर समाजवादी पार्टी बनाउन सकिने प्रस्ताव राखेको नेताहरू बताउँछन् । डा.भट्टराईको यस्तो प्रस्तावले पनि उनी सङ्कटमा छन् भन्ने देखाउँदछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =