देशलाई १० वर्षभित्र दक्षिण एसियाकै धनी पुस्ताको रूपमा अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसियाकै धनी पुस्ताको रूपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले सबै क्षेत्रको योगदानबाट मुलुकलाई १० वर्षभित्र दक्षिण एसियाकै धनी पुस्ताको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रूपमा विकास गर्ने उद्देश्यअनुरूप मन्त्रालयले त्यससँग सम्बन्धित आवश्यक संरचना तयार गरिरहेको जानकारी दिए । चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।
कार्यक्रममा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०७७’ कार्यालय सहयोगी हरिबहादुर केसी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि क्रमशः १५ र २५ हजार रुपैयाँ रहेको छ । बोर्डले भुवन केसी, डा भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ ।








