नेपालमा बाह्य हस्तक्षेप बढेकाे भीम रावलकाे जिकिर

काठमाडौँ । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने समेत बताए । रावलले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढवा दिनुपर्नेमा जोड दिए ।
रावलले एसपिपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न माग गरे । उनले संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपिपीबारेका दस्ताबेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै आपत्ति जनाए ।
रावलले नेपाललाई सैनिक अड्डामा परिणत गर्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए ।
उनले सबै असमान सन्धि र सम्झौताबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिए । यस्तै, रावलले आगामी आम निर्वाचनमा आफ्नो दल एक्लै निर्वाचनमा जाने स्पष्ट पारे ।








