रुसमाथि पश्चिमा देशको प्रतिबन्ध निष्प्रभावी : भारत र चीनलाई तेल बेचेर मालामाल

यो वर्ष संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी पेट्रोलियम पदार्थको खरिदमा व्यापक कटौती गर्दा युक्रेनमाथिको रुसी आक्रमण मस्कोका लागि आर्थिक रूपमा साह्रै पीडादायी भएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैले आक्रमण त्याग्ने आशा गरेका थिए । तर अहिले त्यो सम्भव होला जस्तो छैन ।

चीन र भारत, विश्वको सबैभन्दा धेरै जनसंख्या भएका देशहरू, लगभग पश्चिमले खपत गरे बराबरको मात्रामा रुसी तेल खरिदका लागि अगाडि बढेका छन् । तेलको मूल्य यति उच्च छ कि रुसले चार महिना अघि युद्ध सुरु हुनु अघिको तुलनामा बिक्रीबाट अहिले धेरै पैसा कमाउँदैछ । साथै, अमेरिकी डलरसँग अवमूल्यन हुँदै गरेको रुसी मुद्रा पनि क्रमशः बलियो बन्न थालेको छ ।

यसरी पुटिनलाई तर्साउन असफल भएकोमा रुसी अधिकारीहरू कुटिल हाँसो हाँसिरहेका छन् । तेल बहिष्कारले दिने आर्थिक पीडा मस्कोमा नभई पश्चिममा, विशेष गरी संयुक्त राज्य अमेरिकामा प्रतिबिम्बित भइरहेको छ, जहाँ तेलको आकासिएको मूल्यले राष्ट्रपति जो बाइडेनलाई आफ्नो कार्यकालको आधा अवधिसम्म उल्लेख्य जोखिम सिर्जना गरेको छ ।

कतिपयले युरोपले लागू गरेको तेल प्रतिबन्ध अझै प्रभावकारी हुन सकेको छैन र युद्धमा रुसमाथि लागू गरिएको आर्थिक बहिष्कारको दीर्घकालीन प्रभाव उसको भाग्यको शक्तिशाली निर्धारक बनेको छ भनी बताउँछन् । ती प्रभावहरू पेट्रोलियम पदार्थको व्यापारभन्दा धेरै टाढासम्म फैलिएका छन्, जसले रुसी बैंकिङ तथा अन्य उद्योगहरूलाई रोक्छ, तर ठूलो मात्रामा तेल र ग्यासको बिक्रीबाट रुसले सरकार र सेनालाई तैनाथ राख्छ ।

मस्कोको पीएफ क्यापिटल कन्सल्टिङ कम्पनीका प्रमुख अर्थशास्त्री येभगेनी नादोर्शिनले रुसको ऊर्जा राजस्वको बारेमा भने, “रुसका आर्थिक परिसूचकहरू सबैभन्दा खराब अवस्थामा भन्दा धेरै राम्रा छन्, र सम्भवतः परिकल्पना गरिएभन्दा पनि राम्रो छ ।”

पुटिनले अब अनिश्चितकालका लागि युद्धको जारी राख्न आर्थिक रूपमा उत्साहित महसुस गर्नेछन् कि छैनन् भन्ने खुला प्रश्न हो । तर त्यहाँ हरेक सङ्केतले युक्रेन र यसका समर्थकहरूले लामो द्वन्द्वको लागि थप कम्मर कसेको प्रतीत हुन्छ ।

युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेशचुकले दक्षिणी युक्रेनका रुसी–नियन्त्रित भूभागहरूमा बसोबास गर्ने लाखौँ मानिसहरूलाई सम्भावित युक्रेनी प्रत्याक्रमण भन्दा अगाडि नै उद्धार गर्न आपत्कालीन अनुरोध गरेका छन् ।

गत साता, बाइडेन प्रशासनले महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई अचानक युक्रेनको भ्रमणमा पठायो, जहाँ उनले सम्भावित युद्ध अपराधमा संलग्न रुसीहरूलाई पहिचान गर्नका लागि अमेरिकी पहल स्वरूप यसअघि नाजीहरूको अनुसन्धानका लागि परिचित एक अनुभवी अभियोजक एली रोजेनबमको नियुक्तिको घोषणा गरे । पुटिनले युक्रेनमा रुसी अत्याचारको जुनसुकै पनि आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्, जुन उनले लामो समयसम्म कायम राखेपनि वैधानिक देश होइन ।

मस्कोलाई पछि हट्न सहमत बनाउन वा कम्तीमा युद्धलाई निरन्तरता दिन सक्ने क्षमतालाई कमजोर पार्न अल्पकालीन रूपमा संयुक्त राज्य अमेरिका र यसका पश्चिमी सहयोगीहरूले फौजदारी अभियोजनमा नभएर, आर्थिक प्रतिबन्धकोलाई मात्र महत्त्व दिइरहेका थिए । अमेरिका र साउदी अरेबियापछिको तेस्रो ठूलो तेल निर्यातकर्ता रुसबाट एसियामा तेलको बढ्दो मागका कारण अहिले हेर्दा उक्त प्रतिबन्धको रणनीति खासै फाइदाजनक देखिँदैन ।

मे महिनामा, चीनबाट रुसी तेलको आयात अघिल्लो महिनाको तुलनामा २८ प्रतिशतले बढेर कीर्तिमान कायम गरेको छ । चिनियाँ तथ्याङ्कका अनुसार रुसले चीनमा सबैभन्दा बढी तेल आपूर्ति गर्दै आएको साउदी अरेबियालाई समेत उछिनेको छ । विगतमा रुसबाट थोरै तेल किनिरहेको भारतले अहिले प्रत्येक दिन ७६०,००० ब्यारेलभन्दा धेरै तेल आयात गर्न थालेको बजार अनुसन्धानकर्ता केप्लरको सिपिङसम्बन्धी तथ्यांकले देखाउँछ ।

“एसियाले रुसी कच्चा तेलको उत्पादनलाई बचाएको छ ।” केप्लरका विश्लेषक भिक्टर काटोनाले भने, “रुस, अझै खस्कनुको सट्टा, महामारी पूर्वको अवस्थामा पुग्न लागेको देखिन्छ ।”

रिस्टाड इनर्जी नामक एक स्वतन्त्र अनुसन्धान र व्यापार विश्लेषक कम्पनीका अनुसार, युरोपमा रुसी कच्चा तेलको बिक्री मार्च देखि मे सम्म प्रति दिन ५५४,००० ब्यारेलले घटेको छ, तर एसियाली प्रशोधन प्लान्टहरूले प्रति दिन ५०३,००० ब्यारेलले आफ्नो हिस्सा बढाएका छन् – लगभग १–को लागि–१ प्रतिस्थापन ।

युक्रेन आक्रमणका कारण लगाइएको प्रतिबन्धसँग जोडिएका जोखिमले गर्दा रुसले ठूलो छुटमा तेल बेचिरहे पनि ऊर्जाको बढेको मूल्यले उसलाई राम्रै क्षतिपूर्ति दिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार रुसले गत महिना अप्रिलको तुलनामा १ ।७ अर्ब डलर बढी कमाएको छ ।

इयुले क्रेमलिनसँगको ऊर्जा निर्भरताबाट मुक्त हुन खोजिरहेको अवस्थामा पहिले युरोपमा बेचिने सबै रुसी तेल एसियाले किन्छ वा किन्दैन त्यो स्पष्ट छैन । तर अहिलेका लागि, एसियाका ग्राहकहरूका कारण मस्कोलाई तेल उत्पादनको मात्रा कायम राख्न र यसको उत्पादन खस्कने अपेक्षाहरूलाई गलत सिद्ध गर्न सक्षम भएको छ ।

विशेष गरी चीनबाट तेल खरिदका कारण पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङबाट पाएको समर्थनलाई उजागर गरेको छ, जसले युक्रेन युद्धको बारेमा उनको जे सुकै धारणा भएपनि मस्कोसँगको सहयोगलाई अझ गहिरो बनाउने वाचा गरेका छन् ।

रुसबाट छुटमा तेल किनेर पनि पम्पहरूमा उपभोक्ता मूल्य उच्च राखिएकाले भारतीय तेल प्रशोधनकर्ताहरूले थप नाफा कमाएको विश्लेषकहरूको भनाइ छ ।

फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयरका अनुसार भारतले निर्यात गरेका तेल सम्बन्धित केही उत्पादनहरू संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र इटालीमा पनि निर्यात भैरहेको छ ।

एक पटक प्रशोधनकर्ताहरूले कच्चा तेललाई डिजेल वा पेट्रोलमा परिणत गरिसकेपछि, तिनीहरूले युरोप र अन्य ठाउँमा पठाउने इन्धन रुसी कच्चा तेलबाट उत्पादन भएको हो कि होइन भनेर कसैले छुट्याउन सक्दैन । यसको मतलब पश्चिमा सवारी चालकहरूले सोच्छन् कि उनीहरूले गैर–रुसी इन्धनको लागि बढी तिर्नुपरिरहेको छ ।

“ती अणुहरू, तीमध्ये धेरैजसो रुसी हुन्,” जेफ ब्राउन, एफजीई, एक ऊर्जा परामर्श फर्मका अध्यक्षले पश्चिममा निर्यात हुने प्रशोधित तेलका उत्पादनहरू बारे भने ।

रुसको तेल र ग्यासको विश्वव्यापी उच्च मागले रुसी अधिकारीहरूलाई रुसी निर्यात सीमित गर्ने पश्चिमा प्रयासहरू असफल भएको घोषणा गर्न उक्साइरहेको छ ।

गत हप्ता रुसको सेन्ट पिटर्सबर्गमा भएको आर्थिक सम्मेलनमा रुसको एक प्रमुख उर्जा कम्पनी ग्याजप्रोमका प्रमुख एलेक्सी मिलरले युरोपमा रुसी प्राकृतिक ग्यासको निर्यात दशौं प्रतिशतले घटेपनि मूल्य पनि केही गुणा बढेकाले युरोपसँग रुष्ट हुनुपर्ने कुनै कारण नभएको बताए ।

“म सत्य बोलिरहेको छु । हामी युरोपसँग कुनै तिक्तता राखेका छैनौ”, एलेक्सी मिलरले भने ।

यो महिना मात्रै, रुसको अर्थ मन्त्रालयको अनुमानमा उच्च मूल्यका कारण सरकारी ढुकुटीमा तेल र ग्यासको राजस्व अपेक्षा गरेभन्दाभन्दा ६ अर्ब डलर बढी प्राप्त हुनेछ ।

पुटिनको सरकारले बजेटको तथ्यांक सार्वजनिक गर्ने क्रमलाई पनि ह्वात्तै घटाएको छ, यसले युद्धमा कति खर्च गरिरहेको छ भनेर मापन गर्न गाह्रो भएको छ । विश्लेषकहरू भन्छन् कि पुटिन आर्थिक वा अन्य कारण देखाएर तत्काल उनको सैन्य अभियान फिर्ता गर्नुपर्ने दबाबमा छन् भन्ने कुनै प्रमाणिक आधार छैन ।

तर नादोर्शिनले भनेका छन् कि सरकारले जारी गरेको तथ्याङ्कले यी सबै कार्यमा खर्च घटाउन खोजिरहेको संकेत गरेको छ । साथै रुसी सेनाको उपकरणको कमी प्रमाणित भएको छ, स्वयंसेवकहरूले सेनालाई प्राथमिक उपचार सामाग्री र अन्य आधारभूत वस्तुहरू पुर्‍याउन प्रयासरत रहनुले , युद्धलाई निरन्तरता दिनक्रेमलिनको वित्तीय क्षमतामा संकुचित भएको देखाउँछ ।

‘आधिकारिक घोषणाहरूमा साहसको बाबजुद पनि सरकारको खर्च गर्ने तत्परतामा शिथिलता देखिएको छ,’ नादोर्शिनले भने, ‘हतियार किन्ने सन्दर्भमा सबै ठीकठाक भइरहेको छैन भन्ने अनुमान गर्न गाह्रो छैन ।’

न्युयोर्क टायम्समा प्रकाशित भिक्टोरिया किम, क्लिफोर्ड क्राउस तथा एन्टोन ट्रोइनोभास्कीको आलेखकाे मनोजराज रेग्मीले गरेकाे भावानुवाद । स्राेतः INS

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *