इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल

एजेन्सी । इराकी विदेशमन्त्री फुवाद हुसेन र उनका इरानी समकक्षी सैयद अब्बास अराघचीबीच आईतवार बगदादमा भेटवार्ता भएको छ ।
सो अवसरमा दुई नेताहरूबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाका विविध आयामबारे विस्तृत छलफल भएको छ । इराकी परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, विदेशमन्त्री हुसेनले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा निरन्तर समन्वय र परामर्शको आवश्यकतामा जोड दिएका छन् ।
मन्त्री हुसेनले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्न बगदादले आफ्ना कूटनीतिक प्रयासहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे । भेटका क्रममा इरानी विदेशमन्त्री अराघचीले इराकलाई इरानको एक घनिष्ठ मित्र, छिमेकी र रणनीतिक साझेदारको रूपमा चित्रण गरे ।
उनले विभिन्न क्षेत्रमा इराकलाई इरानको पूर्ण समर्थन रहने कुरा दोहोर्याए । मन्त्री अराघचीले हालै इरान र अमेरिकाबीच भएको शान्ति समझदारीपत्रलाई अन्तिम सम्झौतामा पुग्ने प्रारम्भिक कदमको रूपमा व्याख्या गरे ।
उनले व्यापक युद्धविरामको कार्यान्वयन र त्यसले क्षेत्रीय स्थिरता एवं सुरक्षामा पुर्याउन सक्ने सकारात्मक प्रभावबारे इरानको दृष्टिकोणसमेत प्रस्तुत गरेका थिए ।
यद्यपि, शान्ति समझदारी र वार्ता प्रक्रिया जारी रहेकै समयमा गत सप्ताहान्तमा अमेरिका र इरानबीच सैन्य तनाव भने देखिएको छ ।
हर्मुज जलसन्धिमा व्यापारिक जहाजहरूमाथि अवरोध सिर्जना गरेको आरोप लगाउँदै अमेरिकाले शुक्रवार र शनिबार इरानी लक्ष्यहरूमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले पनि पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा आक्रमण गरेको समाचारमा जनाइएको छ ।









