एमालेभित्र ओली नहुने हो भने हजारौँलाई समाजवादी यात्रामा डाेर्‍याउन सकिने प्रचण्डको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समाजवादको यात्रातिर देशलाई डोर्‍याउन माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्ने बताएका छन् ।

बुधवार माओवादी कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशमा समाजवादको आधार तय गर्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउनका लागि सबै माओवादी घटकहरूले आफ्नो कमजोरी आत्मसमीक्षाका साथ एकीकृत हुनुपर्ने बेला आएको बताएका हुन् ।

प्रचण्डले विप्लव, धमेन्द्र बास्तोला, मोहन वैद्य लगायतका नेताहरूलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी पनि दिए । क्रान्तिको खोजी गर्ने मोहन वैद्य र विप्लवको नियतप्रति आफ्नो शंका नभएको तर, चाहनाले मात्रै क्रान्ति नहुने उनको भनाई छ ।

प्रचण्डले माओवादीहरू एकजुट हुनुपर्ने दबाब जनता र कार्यकर्ताहरूबाट आएको उल्लेख गर्दै जनता नै इतिहासका निर्माता भएको आफूहरूले भन्दै आएको बताए ।

त्यस्तै, उनले तत्कालीन नेकपामा केपी ओली प्रवृत्ति नेतृत्वमा रहँदा प्रतिगमतर्फ जाने खतरा भएकाले आफूहरूले विद्रोह गर्नुपरेको तर्क गरे । एमालेभित्र केपी ओली नहुने हो भने हजारौँलाई समाजवादको यात्रामा डोर्‍याउन सकिने आफ्नो तीन वर्षको अनुभव रहेको उनले बताए ।

आफूहरूले नेकपा एमालेमा समाजवादको बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फुल्ने र फल्नेसमेत प्रचण्डले बताए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =