नेकपा भयो चार टुक्रा !

काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय सदस्य बामदेव गौतमले अन्ततः आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका छन् । नेकपा एकता भङ्ग भएपछि नेकपा एमाले र माओवादी केन्द्र मात्रै ब्युँतिएन, माधव नेपाल नेतृत्वमा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बन्यो ।
नेकपा एकता भङ्ग यताका कुनै पनि राजनीतिक ध्रुवमा नखुलेर तत्कालीन नेकपा ब्युँताउने भनी अभियान चलाइरहेका बामदेव गौतमले पनि अन्ततः नयाँ पार्टी नै बनाए । योसँगै तत्कालीन नेकपा एकता भङ्ग भएपछि नेकपाको विरासत दाबी गर्दै चार वटा कम्युनिस्ट पार्टी बनेका छन् ।
बामदेवले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’ घोषणा गरेका हुन् । नयाँ पार्टीमा गौतम पार्टी संयोजक छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य छ । पार्टी समन्वय समितिको रूपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरू रहनेछन् ।
पार्टी संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रूपमा रहने जनाइएको छ ।
नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका थिए । नयाँ पार्टी घोषणा गर्दैगर्दा पनि उनले प्रमुख दुई उद्देश्य सुनाएका छन् । पहिलो- नेपालमा रहेका सबै कम्युनिस्टहरुबीच एकता । दोस्रो- सबै कम्युनिस्टहरुबीच एकता सम्भव नभए बिचार मिल्ने पार्टीसँग आफ्नै पार्टीको एकता ।
यस्तो उद्देश्य राख्नुको उद्देश्यबारे उनको प्रष्टीकरण छ, नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गयो, एकीकृत गर्नुपर्ने आवश्यकता देखियो ।’ आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै धराशायी बनेकोले कम्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गर्नुपरेको उनको जिकिर छ । आफू हालसम्म संलग्न भएका पार्टीहरू सुदृढ र राम्रो बनेको दाबी गर्दै उनले आफूले घोषणा गरेको नयाँ पार्टीले पनि उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
कम्युनिस्टहरू नमिले पाँच वर्षभित्रै नेपालबाट कम्युनिस्टहरू खतरामा पर्न सक्ने उनको विश्लेषण छ । ‘प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ, यदि एकता वा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने वा त बहुमत नै प्राप्त गर्नेछ नेपाली कांग्रेसले गठबन्धनबाट, नभए पनि सबैभन्दा ठूलो पार्टीको रूपमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थापित हुनेछ’ उनी थप्छन्, ‘आउँदो चुनावपछि पाँच वर्षसम्म नेपाली कांग्रेसको मातहतमा सबै कम्युनिस्टहरू रहनेछ र दोस्रो निर्वाचनमा नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यकता पर्नेछैन् । कम्युनिस्टहरू सकिनेतिर जानेछन् ।’
यही तर्कका आधारमा गौतमले पुनः नेकपा एकता ब्युताउनुपर्ने जिकिर गर्दै आएका छन् । ०७४ सालमा भएको प्रदेश र सङ्घीय चुनावमा तालमेल गर्दै नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते पार्टी नै एकता गरेका थिए । तर, नेकपा एकताले पूर्णता नपाउँदै विवाद शुरु भयो । ०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुग्यो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू सडक आन्दोलनमै उत्रिए । उक्त विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदियो । त्यसपछि पनि नेकपा विवाद समाधान हुनु भन्दा थप चर्किँदो रूपमा अगाडि बढ्यो । नेकपा भित्र विवाद चर्किरहेकै बेला सर्वोच्च अदालतले नाम सम्बन्धी विवादमा नेकपा एकता भङ्ग हुने फैसला २३ फागुन २०७८ मा गरिदियो ।
बामदेव गौतम फेरि पनि पार्टी एकतामा जोड दिएर बसे । तर, एमाले र माओवादी पूर्व पार्टी ब्युँताएर अगाडि बढे । माधव नेपाल केही समय एमालेमै बसेर सङ्घर्ष गरे । २ भदौ २०७८ मा माधव नेपाल नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग नै गए । ९ भदौमा माधव नेपालले नयाँ पार्टीको मान्यता निर्वाचन आयोगबाट पाए ।
१४ असार २०७९ मा आइपुग्दा बामदेवले पनि नयाँ पार्टी घोषणा गरे । यो सँगै तत्कालीन नेकपा औपचारिक रूपमै चार टुक्रा-पार्टीका रूपमा देखा परेको छ ।








