झापाका अधिकांश दक्षिणी क्षेत्र डुबानमा

विराटनगर । अविरल वर्षाका कारण झापाका केही ठाउँ डुवानमा परेको छ भने अधिकांश स्थान जलमग्न बनेको छ । डुबानका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ। बर्षाको कारण पैनी तथा खोलाको सतह पार पानी बस्तीमा पस्दा जलमग्न भएको छ। झापाको मेची, निन्दा, विरीङ, कनकाई, मावा, अदुवा, बनियानी, देउनियाँ, हडिया, घाग्रामा पानी बहाव बढेको छ ।

झापा सदरमुकाम भद्रपुरका अधिकांश वडाहरू जलमग्न बनेको छ । भद्रपुर ८ मा २५ घर विस्थापित भएको छ । भद्रपुर ३, ४, ५ र ६ मा सयौँ घर डुबानमा परेको छ । मेची नदीमा पानीको बहाव बढिरहेकोले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका पहरी निरीक्षक सन्तोषकुमार बुढाथोकीले जानकारी दिए ।

देवीबस्ती, मेची किनार, बसपार्क, भानु चोक आसपासका दर्जनौँ घर जलमग्न भएका छन् । गौरदाह ६ को टंगुवा बस्तीमा २५ घर डुबानमा परेको छ । घर आँगनमा २ फिटसम्म पानी जमेको स्थानीयले बताएका छन् । उनीहरूलाई सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मकलडुब्बा खोलाको पानी शिवसताक्षी ६ स्थित शिवगञ्जमा बस्तीमा पस्दा केही घरहरु डुबेका छन् । गौरीगञ्ज १ मा बनियानी खोला, माई खोलाको पानी गाउँ वसेको छ। खोला गाउँपस्दा बाकुबाँडीमा १५, देविगाडामा ५ र टापु बस्तीमा १२ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

गौरादहमा ६ मा रतुवा खोला पसेर तेलिया डाँगी टापुमा परिणत भएको नेपाल रेडक्रस सोसाइटी झापाकासभापति लोकराज ढकालले जानकारी दिए । शिवसताक्षी ३ र ५, कमल गाउँपालिका १ मा कमल र बनियानी खोला पसेको छ । शिवसताक्षीमा ६ मा ४० घर डुबानमा परेको छ । झापा १ मिलनबस्तीमा ९० घरमा पानी पसेको रेडक्रस झापाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *