प्रदेश १ मा निरन्तरको वर्षा

विराटनगर । प्रदेश १ मा निरन्तरको वर्षाको कारण अधिकांश स्थान जलमग्न भएको छ । रातीदेखि परेको अविरल वर्षाका कारण झापा, मोरङ, सुनसरीका अधिकांश स्थान जलमग्न भएको छ ।

लगातारको वर्षाको कारण केही क्षेत्रहरू डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागले प्रदेश १ को मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरीखोला लगायतका खोलाहरूमा पानीको सतह बढ्ने जनाएको छ । मौसम विभागले तराई र चुरे पहाड भएर बहने साना नदीहरूमा बाढीको जोखिम बढ्ने तथा तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रदेश १ मा आज दिनभरि नै वर्षा हुने अनुमान सहित सतर्कता अपनाउन विभागको आग्रह छ । सुनसरी र मोरङको बुढीखोला र मोरङको सिँगिया खोलामा पानीको सतह बढेपछि अहिले खोला किनारका नागरिकलाई सुरक्षित रहन भनिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

डुबान भएका क्षेत्र, खोला किनारको बस्तीका नागरिक जोखिममा पर्ने अवस्थालाई ध्यानमा राखेर टोली तयारी अवस्थामा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *