प्रदेश १ को नाम संसदको चालु अधिबेशनबाटै टुङ्ग्याउन दलहरु सहमत

विराटनगर । चालु अधिवेशनबाट प्रदेश १ को नामाकरण गर्न प्रदेश १ मा प्रतिनिधित्व गर्ने तलहरु सहमत भएका छन् । संवाद समूह प्रदेश १ ले विराटनगरमा आयोजना गरेको संवाद कार्यक्रममा प्रदेशको नामाकरणमा नेताहरुले सहमति जनाएका हन् । चालु बजेट अधिबेशनबाट जसरी पनि प्रदेश १ को नामारकण गरेर जाने सहमती उनीहरुले जनाएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सचेतक, प्रमुख सचेतक, संसदीय दलका नेता र विज्ञसहित भएको संवादमा दलका नेताले चालु बजेट अधिबेशनबाट नाम ल्याउने टुंग्याउने सहमति गरेका हुन् । नाम के ल्याउने भन्ने बारे दलहरुबीच आन्तरिक छलफल गरेर जाने तर यसै अधिबेशनबाट नाम प्रस्ताव गरेर लाने उनीहरुले जनाएका छन् ।

एमाले र कांग्रेसका सांसदकाे पार्टीमा एकमत
नेकपा एमालेको नामाकरण सहजीकरण समितिका संयोजक हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरणको बारेमा नेकपा एमाले एउटै नाममा एक ढिक्का भएर मतदान गर्ने बताए ।

‘हामी नाम ल्याउने बारेमा सहमत छौँँ,’ उनले भने, सांसद जुनसकै नाम आउँदा पनि एक ढिक्का हुनुहुन्छ, एमाले एक हुन्छ ।’

कार्कीले प्रदेशको नाम भनेको प्रदेश १ वासीको पहिचान भएकोले न्वारन गरेर नाम दिने काम हुने बताए ।

‘अहिले हामी प्रदेश सभाको अन्तिम समयमा छौँ,’ उनले भने, प्रदेशको नाम चालु अधिबेशनबाट टुङग्याउँछौँ ।’

उनले प्रदेश १ मा रहेका १२३ जातजाती र सबै भाषाभाषीलाई समेटेर जाने खालको नाममा जानु पर्ने तर्क राखे । उनले प्रदेश १का करिब ६० लाख नागरिकलाई समेटेर नै जानु पर्ने बताए ।

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नाम सबैलाई सजिलो हुने र बुझ्ने खालको राखेर जानु पर्ने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक सुुयर्माराज राईले प्रदेशको नामाकरणका लागि आउने जुनसुकै नाममा कांग्रेसका सांसद एकढिक्का हुने बताए । नेपाली कग्रेस संसदीय दलले यसै अधिबेशनबाट नाम टुंगो लगाउने बारेमा छलफल गरेको उनले जानकारी दिए ।

‘गठबन्धन दलहरुका बिचमा जिम्मेवारी तोकेर काम अघि बढेको छ,’ उनले भने, ‘यो अधिवेशनबाट जसरी पनि नाम आउँछ भन्नेमा ढुक्क रहेका छौँ ।’ सर्बसम्मतको लागि दलहरु एक ठाउँमा उभिएर विकल्पसहित छलफल गर्ने यदी सहमती नहुँदा पनि अल्पमत र बहुमतको आधारमा जाने उनले बताए ।

‘नामलाई जटिल बनाइएको छ,’ उनले भने, नामाकरणको बिषयलाई सबैले सहज रुपमा लिनु पर्छ, कसैले जटिल बिषय बनाउने हैन ।’

किराँत पहिचानको प्रश्न
नेकपा माओवादी केन्द्र संसदीय दलकी सचेतक सौभाग्यवती राई किराँतले यसै अधिबेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने बताइन् । दलभित्र प्रदेशको नाम पहिचानको आधारमा जानुपर्छ भन्ने रहेकोले इतिहासको आधारमा प्रदेशको नाम राखेर जानु पर्ने तर्क गरिन् ।

‘दलको कुरा पनि किरात प्रदेश नै हुनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘इतिहासमा ओल्लो किरात, पल्लो किरात र माझ किराँतको रुपमा थियो, त्यही भूगोल नै अहिले किराँत प्रदेश हुनुपर्छ भन्ने दलको कुरा छ ।’

नेकपा एमाले प्रदेश सभा सचेतक बिमल कार्कीले चालु बजेट अधिबेशनबाट नाम जुराउने तरखरमा रहेको बताए । सबै भन्दा धार्मिक, सांस्कृतिक, भाषिक बिबिधता भएको प्रदेश भनेको प्रदेश १ नै रहेकोले सबैले अपनत्व पाउने नाम लिएर जाने बताए ।

प्रदेशसभा सदस्य सिता थेबेले नामको बिषय सबैको आबश्यकताको बिषय भएकोले यसै अधिबेशनबाट टुङ्गो लगाएर जाने बताइन् ।

‘प्रदेश संरचना शुरु भएदेखि नै नामको बिषयमा छलफल गर्दै आएका छौँ , उनले भनिन्, अहिलेसम्म निश्कर्षमा पुग्न सकिएको छैन, अब यो अधिबेशनबाट पुग्नेगरि छलफल अघि बढेको छ ।’

कोशी कि सगरमाथा ?
संवादको क्रममा विभिन्न क्षेत्रका विज्ञहरुले प्रदेश १ को नाम कोशी उपयुक्त हुने बताए । समाजशास्त्री डा. चन्द्र उपाध्यायले पहिचानको मुद्दाभन्दा पनि अरु नाममा केही फरक पर्दैन भन्ने खालको पनि आएकोले सबैले स्वीकार गर्ने नाम ल्याउन सुझाव दिए । चाँडो नामाकरण गर्न सके अरु काम गर्न पनि सजिलो हुने भएकोले तत्काल नामाकरण गर्न उनले दलहरुलाई आग्रह गरे ।

संस्कृतिविद् डा. सनत बरालले प्रदेशको नामका लागि बिराट, किराँत, सगरमाथा र कोशी जस्ता नामको प्रस्ताव आइरहेको भन्दै अधिकांशले ‘कोशी’ नै राख्नुपर्छ भन्ने खालको तर्क रहेकोले सबैको चाहना कोशी नामाकरण नै उपयुक्त हुने बताए । कोशीले सबैलाई समेट्ने बताए ।

सप्तकोशी नदी विश्वको ठूलो र नेपालको पहिलो नदी भएकोले यसलाई सबैले स्वीकार गर्नु पर्ने बताए ।

‘प्रदेशको नाममा कोचिला, मेची, लिम्बुवान र खम्बुवानको कुरा पनि आएको छ,’ उनले भने, ‘नदीसँग सभ्यता हुने भएकोले पानीबाट नै सबैको अपनत्व हुने देखिन्छ ।’

भाषाका जानकारी ईश्वरा पौडेल ओझाले भाषाले सम्बन्ध सुत्रको काम गर्ने बताए ।

‘सबैलाई जोड्ने उपयुक्त बिषय भाषा हो,’ उनले भने, ‘पानीसँगको सम्बन्ध र मानिसको सम्बन्ध मित्रवत छ ।’

भाषाविद् डा. टुनराज भट्टराईले पानीलाई पहिचान दिएर कोशीको नाम आएको बताए ।

‘धार्मिक, सांस्कृतिक मानव सभ्यताको कुरा पनि कोशीसँग जोडिएको छ,’ उनले भने, ‘सबैभन्दा होचो ठाउँ र अग्लो ठाँंउँ पनि प्रदेश १ मा नै रहेकोले सगरमाथा राख्दा पनि उपयुक्त हुन्छ ।’

सरकार सहजीकरण गर्दै
प्रदेश १ सरकारका प्रवक्ता एकीकृत समाजवादीका प्रमुख सचेतक उपेन्द्र घिमिरेले प्रदेशको नाम सहज रुपमा टुंग्याउने तयारी भइरहेको बताए ।

‘हामी तत्काल यो अधिबेशनबाट नाम टुंग्याउने तयारीमा छौँ,’ उनले भने, ‘सबैले स्वीकार गरेको नाम प्रदेशको हुनुपर्छ, त्यही प्रदेशको पहिचान भएर जान्छ ।’

सरकारको तर्फबाट नाम सहजीकरणको जिम्मेवारी पाएका स्वास्थ्य मन्त्री जयराम यादवले सबै दलसँग छलफल गरेर जाने दायित्व आफूसँग रहेकोले समन्वय भइरहेको बताए । उनले यसै अधिबेशनबाट नाम टुङ्गो लगाएर जाने बताए ।

‘प्रतिपक्षी एमालेले आफ्नो तर्फ नामको बारेमा सहजीकरण समिति बनाएपछि सरकार पक्षलाई सहजता भएको छ,’ उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षका बिचमा छलफल भइरहेको छ, यो अधिवेशनमा नाम प्रदेशसभामा लैजान्छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *