अध्यक्ष नेपाललाई योगेश भट्टराईको सुझाव: मुख नछाड्नुस्, सन्यास लिनुस्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुख नछाड्न भन्दै सन्यास लिएर बस्न सुझाव दिएका छन् ।
आज आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा सांसद भट्टराईले अध्यक्ष नेपालले अब सन्यास लिने बेला आएको टिप्पणी गरेका हुन् । भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् ।
अध्यक्ष नेपालले एमालेका नेताहरूलाई सम्बोधन गर्दै गरेको भाषणप्रति कटाक्ष गर्दै आज एमाले सचिव भट्टराईले उनलाई मुख नछाड्न पनि सुझाव दिएका हुन् । केही दिनअघि अध्यक्ष नेपालले ‘१० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ ।’ भनेर भाषण गरेकोमा भट्टराईले राजनीतिक पार्टीको शीर्ष नेताले सम्हालिएर बोल्न आग्रह गरेका छन् ।
साथै, सचिव भट्टराईले राजनीतिबाट सन्यास लिने बेलामा नयाँ पार्टी बनाउन हौसिनु अर्थहीन भएको पनि बताए ।








