अनि घट्यो पेट्रोलमा २० र डिजेलमा २९ रूपैयाँ

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उनका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटेको छ । जसअनुसार हाल पेट्रोलमा १९९ रहेकामा रु २० घटेर १७९ कायम गरिएको छ । त्यस्तै डिजेलमा १९२ बाट रु २९ घटाएर १६३ कायम गरिएको छ । नयाँ मूल्य राति १२ बजेदेखि लागू भएको छ । मन्त्रिपरिषद्को निर्णयलगत्तै मन्त्री बडूले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन् । ‘यो आजैको मन्त्रिपरिषद् बैठकको निर्णय हो । सुझावका आधारमा बैठकले निर्णय गरेको हो,’ मन्त्री बडूले भने ।

उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुनेगरी मूल्य घटाइएको बताए । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उनले बताउ । ‘यसले समग्र समाधान त हैन तर, तत्काल जनताले भोगेको समस्यालाई केही राहत दिन्छ भन्ने सरकार र मन्त्रालयको विश्वास छ,’ उनले भने ।

बजार अनुगमनलाई प्रभावकारी बनाइने
सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्ने भएको छ । उद्योगमन्त्री बडूले सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाई मूल्य नियन्त्रण गरिने विश्वास व्यक्त गरे ।

बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुनेगरी काम गर्न उनले आग्रह गरे । मन्त्री बडूले उपभोग्य वस्तुमाथि कानूनविपरीत मूल्यवृद्धि गरेको पाइएमा कारवाहीको दायरामा ल्याइने भन्दै यस कार्यमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभावस्वरुप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील छ । सोही विषयलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनतालाई असर पुरयाएकोले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान सत्ता गठबन्धनका शीर्षस्त नेताहरुको बैठक भएको थियो । उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च पदाधिकारीको उपस्थिति थियो । उक्त बैठकले वर्तमान अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुझाव दिएअनुरुप मूल्य समायोजन गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिएको निर्देशनबमोजिम मूल्य घटाइएको मन्त्री बडूको भनाई छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *