पर्सामा पत्रकारहरूको निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमा

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्योपचारका दुर्घटना बीमा गरिदिने भएको छ ।

पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो । महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

महानगरपालिकाद्वारा सार्वजनिक भएको आगामी आवको नीति तथा कार्यक्रममा अध्ययन, अनुसन्धान गर्न चाहने पत्रकारलाई अध्ययन भ्रमण र फेलोसिपको व्यवस्था गर्नुका साथै कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्ने योजना पनि महानगरले अघि सारेको छ ।

यसका साथै, लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक ढङ्गले प्रदान गरिने तथा फेलोसिप कार्यक्रमलाई पनि महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । सञ्चारकर्मीलाई सक्षम र व्यावसायिक बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.