सुर्खेतका ९ पालिकाको बजेट सार्वजनिक कसको कति ?

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा वार्षिक बजेट पेस गरेका छन् । स्थानीय सरकारले १० असार भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पेस भएको हो ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र ब्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

सुर्खेतका ९ वटै स्थानीय तहले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार विकासले प्राथमिकता पाएका छन् । प्रदेशको ठुलो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाले कृषि र पूर्वाधार विकास लक्षित बजेट सार्वजनिक गरेको छ । आर्थिक सम्पन्नता, भौतिक रूपले योजनाबद्ध सहरी सुविधायुक्त, लैङ्गिक रूपमा महिलामैत्री, सामाजिक रूपले समावेशी÷सहभागीतात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रूपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय सहरको रूपमा निर्माण गर्ने योजना बजेटका प्राथमिकतामा छन् ।

नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँ गरी कुल १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको बजेट पेस गरेको हो ।

यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो । यस्तै लेकवेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ रुपैयाँ बजेट ल्याएको छ । नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३ सय ६९ र पूँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रुपियाँ बजेट विनियोजन गरेको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले झण्डै ८६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८६ करोड २० लाख ४८ हजार ६ सय ५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ । यस्तै, भेरीगंगा नगरपालिकाले ६७ करोड ५ लाख ८१ हजार ७ सय ७९ बराबरको बजेट प्रस्ताव भएको छ । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजार बराबरको बजेट पेस गरेको छ । नगरपालिकाले पेस गरेको बजेटमा चालुतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९५ लाख रहेको छ ।

यस्तै, चिङ्गाड गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य तथा पूर्वाधार विकास लक्षित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले चालुतर्फ २८ करोड ७७ लाख १० हजार र पुँजीगततर्फ १० करोड ३९ लाख ७८ हजार ४० गरी कुल ४९ करोड ३८ लाख ९६ हजार ८ सय ९६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

यस्तै, बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख ८ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले पेस गरेको बजेटमा चालुतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पुँजीगततर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

बराहतालले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

यस्तै, सिम्ता गाउँपालिकाले चालुतर्फ २५ करोड दुई लाख २४ हजार र पुँजीगततर्फ ३४ करोड ९३ गरी जम्मा ५९ करोड ३४ लाख बराबरको बजेट पेस .भएको छ । सिम्ता गाउँपालिकाले पनि पूर्वाधार विकासमा जोड दिएको छ । चौकुने गाउँपालिकाले कृषि, पशुपालन, खानेपानी र पूर्वाधार विकास केन्द्रित गरी ५७ करोड ६८ लाख ४४ हजार बराबरको बजेट पेस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *