इटहरी उपमहानगरपालिकामा करमा छुटैछुट

विराटनगर । इटहरी उपमहानगरपालिकाले करमा छुटैछुटको अफर ल्याएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् करमा दर्ता, शुल्क र नविकरणमा छुटैछुट दिने नीति लिएको छ ।

नगरपालिकाको बजेट नीतिमा व्यवसाय दर्ता भएका कुनै पनि व्यक्ति, फर्म संघसंस्था वा निकायले आर्थिक वर्ष २०७८-०७९ सम्म लाग्ने व्यवसाय कर विभिन्न कारणले बुझाउन बाँकी रहेको भएमा त्यस्ता करदाताले आर्थिक वर्ष २०७४-०७५, २०७५-०७६, २०७६-०७७ र २०७७-०७८ मा लाग्ने कर २०७९ साल पौष मसान्तभित्र बुझाएमा सो मा लाग्ने थप शुल्क, दस्तुर, व्याज, जरीवाना मिनाहा गरिने उल्लेख गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७३-०७४ सम्म तिर्नुपर्ने व्यवसाय कर सम्पूर्ण मिनाहा गरिने भनिएको छ । नगरपालिकामा व्यवसाय दर्ता नगरी कारोबार सञ्चालन गरिरहेको भएमा त्यस्ता करदाताले नियमानुसार व्यवसाय दर्ता गरीे आएमा आर्थिक वर्ष २०७४-०७५ देखि आव २०७८-०७९ मा लाग्ने व्यवसाय कर २०७९ पौष मसान्तभित्र बुझाएमा सो मा लाग्ने थप शुल्क तथा जरीवाना मिनाहा दिने भनिएको छ ।

आर्थिक वर्ष २०७८-०७९ वा सो भन्दा अघिको सम्पत्ति कर, भुमिकर नतिरेका करदाताले तिर्नुपर्ने कर २०७९ पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने थप शुल्क, व्याज, जरिवाना मिनाहा गर्ने उमहानगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९-०८० को एकीकृत सम्पत्तिकर, भूमिकर एवं व्यवसाय करबापतको रकम २०७९ पौष मसान्तभित्र दाखिला गर्न आएमा निर्धारित कर रकमको दश प्रतिशत छुट दिइने नीति उपमहानगरले लिएको छ ।

घर जग्गा बहाल कर तिर्ने दायीत्व भएका व्यक्तिको २०७५ अषाढ मसान्त अगाडिको बहाल कर मिनाहा गरिने भनिएको छ । आर्थिक वर्ष २०७५-०७६ देखि २०७८-०७९ मा लाग्ने सम्झौताअनुसारको घर जग्गा बहाल कर, २०७९ पुष मसान्तसम्ममा बुझाएमा सो मा लाग्ने ब्याज, शुल्क र जरिवाना मिनाहा गर्ने छुटको नीति लिएको छ ।

आर्थिक वर्ष २०७९-०८० मा लाग्ने सम्झौताअनुसारको घर जग्गा बहाल कर, २०७९ पुष मसान्तमा बुझाएमा सोमा लाग्ने करमा दश प्रतिशत छुट गरिएको छ । छुट तथा मिनाहा सुविधा प्राप्त गर्न करदाता अनिवार्य उपमहानगरपालिकामा दर्ता हुनुपर्ने व्यवस्था छ ।

उपमहानगररपालिकाले तोकिएको अवधिभित्र छुट सुविधा लिई कर दाखिला नगर्ने व्यक्तिले तिर्नुपर्ने कर, शुल्क, जरिवाना तथा व्याज असुल उपर गरिने भनिएको छ । एक लाख पुँजी भएका स्वरोजगारमूलक व्यवसाय गर्ने व्यवसायीहरूलाई व्यवसाय करमा पूर्ण रूपमा छुट दिने व्यवस्था मिलाइएको छ ।

महिलाहरूले उद्यम तथा उत्पादनमूलक व्यवसाय संचालन गरेमा एकल रूपमा व्यवसाय गर्नेलाई लाग्ने व्यवसाय करमा ४० प्रतिशत छुट र सामूहिक रूपमा व्यवसाय गर्ने समूहलाई ६० प्रतिशत छुट दिइएको छ। प्लिन्थ एरिया ८०० वर्ग फीट सम्मका आर. सी. सी. संरचनाहरू तथा टिनको छाना लगाएका १००० वर्ग फिटसम्मको संरचनाको घर नक्सा पास दस्तुर निःशुल्क गरिनेछ भने यसअघि लिइदै आएको पूर्वाधार मर्मत तथा सेवा शुल्कलाई इटहरी उपमहानगरपालिकाले हटाएको छ ।

मकै पोल्ने, चिया बेच्ने, नाङ्गलो, डोको र ढाकीमा सागसब्जी, चामल, पिठो, चिउरा बेच्ने, मुरली, बासुरी, गुलेली, थैली र माटोको भाडा बेच्ने, जुम्रा, उडुस आदि मार्ने औषधि बिक्री गर्नेलाई बहाल बिटौरी शुल्क निःशुल्क गरिने नीति उपमहानगरपालिकाले लिएको छ ।

हालको इटहरी उप–महानगरपालिकाको क्षेत्रभित्र पर्ने साबिकको हाँसपोसा, पकली, एकम्बा, खनार, गा.वि.स.मा निर्माण इजाजत नलिई बनाएका संरचनाहरूलाई अभिलेखीकरण गर्ने प्रक्रियालाई सहज र सरल बनाउने भनिएको छ ।

गैरनाफामुखी संस्था दर्ता सिफारिसको दरलाई घटाइने, व्यवसायको नामसारी एवं ठाँउसारी व्यवस्था सरलीकृत गरिने उपमहानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *