झारफुक गर्ने धामीको अपहरणमा परेकी बालिकाको हरियाणाबाट उद्धार

विराटनगर । गत वैशाख ३० गते इटहरीबाट अपहरणमा परेकी एक बालिकाको भारतको हरियाणाबाट उद्धार भएको छ ।

इटहरीबाट अपहरण गरी बेपत्ता बनाइएकी १५ वर्षीय बालिकालाई भारतको हरियाणास्थित अम्बालाबाट उद्धार गरिएको होे । हरियाणा बालकल्याण समितिले बालिकालाई असार ३ गते फेला पारेर अस्थायी संरक्षणमा राखेको थियो ।

बालिका फेला परेको बारेमा समितिले राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र,१०४ को टोलीलाई खबर गरेको थियो । नेपालबाट गएको टोलीलाई हरियाणास्थित बालकल्याण समितिले आज हरियाणाको अम्बालामा बालबालिका खोजतलास प्रदेश १ समन्वय केन्द्र १०४ का प्रहरी सहायक निरीक्षक नारायण कटुवालको टिमलाई बालिका पारिवारिक पुनर्मिलनका लागि बुझाएको राष्ट्रिय बालअधिकार परिषद् एवं बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए ।

उद्धार गरेर बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रको टोलीको जिम्मा लगाइएकी बालिकालाई आइतबारसम्म नेपाल ल्याएर परिवारको जिम्मा लगाउने तयारी गरिएको छ । ‘आज मात्र प्रहरी सहायक निरीक्षक सहितको टोलीले बालिकालाई जिम्मामा लिएको छ, अधिकारीले भने, आइतबारसम्म ती बालिकासहित बालबालिका खोजतलास समन्वय केन्द्रको टोली विराटनगर आएपछि परिवारको जिम्मा लगाउनेछ ।’

घटना यस्तो:
वैशाख ३० गते निर्वाचनको दिन थियो । आफ्नै काकाले झारफुक गर्ने भनी विराटनगर घिनाघाटका दिनेश मण्डललाई इटहरी उपमहानगरपालिका वडा नं.१६ स्थित बालिकाको घरमा बोलाइ झारफुक गराएका थिए । झारफुक गरी फूलपाती सेलाउन कोशी जानुपर्छ भनेर बाइकमा राखी बेपत्ता बनाएको बालिकाका आफन्तको भनाइ छ ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय पकलीमा जाहेरी दिई खोजतलास गर्दा पनि नभेटिएपछी मिति २०७९ जेठ २५ गते ईलाका प्रहरी कार्यालय पकलीवाट राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरलाई खोजिका लागि पत्राचार गरेको थियो । केन्द्रले १०४ मार्फत भारतका विभिन्न जिल्लाका बालकल्याण समितिहरू र बालबालिकासँग कार्यरत नेपाल र भारतका संस्थाहरुसँग समन्वय गरेको थियो ।

समन्वय र खोजतलास गर्ने क्रममा असार ३ गते भारतको हरियाणास्थित अम्बालाबाट बालिकाको उद्धार गरिएको प्रदेश समन्वय अधिकृत अधिकारीले जानकारी दिए । बालिकाको काकालाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बालिकालाई अपहरण गरेको आरोप लागेका दिनेश मण्डल भन्ने व्यक्ति फरार रहेकोले नेपाल प्रहरी र भरातीय प्रहरीले खोजी गरिरहेको बालबालिका खोज तलास केन्द्रले जनाएको छ । बालिकालाई अपहरण गरी दिनेश मण्डल भारतमा नै लुकेर रहेको भन्ने जानकारीमा आएको समन्वय अधिकृत अधिकारीले बताए ।

भारतीय प्रहरीको एन्टी ह्युमन ट्राफिकिङ सेलबाट दिनेशको खोजी गरी हरियाणामा नै मानव बेचबिखनको मुद्दा त्यहाँको बालकल्याण समितिले दायर गर्ने तयारी गरेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *