विद्राेहबाटै बनेकाे एकीकृत समाजवादीमा सांसदहरूकाे ‘विद्राेह’, मन्त्री फिर्ताको निर्णय नमान्ने

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का १० जना सांसदहरूले मन्त्री फिर्ताकाे निर्णय नमान्ने भएका छन् । पहिलेका मन्त्रीहरू फिर्ता बाेलाएर पुन: पठाइएका मन्त्रीहरूकाे छनाेटमा असन्तुलन भएकाे भन्दै उनीहरूले पार्टीकाे निर्णयप्रति असहमति जनाएका हुन् । सांसद कृष्णलाल महर्जनले भनेका छन्, ‘६ महिनापछि मन्त्री फेर्ने भनिएकै हाे । हामीले पनि फेर्ने नै भनेकाे हाैँ । तर पछि पठाइएका मन्त्रीहरूकाे छनाेटमा कुनै सन्तुलन छैन । यसप्रति हाम्राे असहमति हाे । काेही सांसद नै नरहँदा पनि मन्त्री भएका छन् । एकै जिल्लाका २ जनालाई मन्त्रीमा सिफारिस गरिएका छन् । मन्त्रीमा सिफारिस गरिएका काेही साथीहरू मन्त्री नबनेकाहरूभन्दा जुनियर छन् । यी सबै कुराहरू मिल्नुपर्छ भन्ने हाम्राे माग हाे । मन्त्री फेर्नुहुँदैन भनेका छैनाैँ हामीले । यसलाई नेतृत्वले बुझ्नुपर्छ ।’
१० सांसदहरूले अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाललाई संसदीय दलका बैठक बाेलाउनसमेत माग गरेका छन् । माग गर्नेहरूमा मन्त्रीहरू विराेध खतिवडा, रामकुमार झाँक्री, कृष्णकुमार श्रेष्ठ, प्रेम आलेसँगै सांसदहरू कृष्णलाल महर्जन, बिनादेवी बुढाथाेकी, गाेपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ, धनकुमार बुढा र निरादेवी जैरू छन् । उनीहरूले संसदीय दलकाे बैठकसँगै ८ बुँदामा अन्य मागहरू राखेका छन् ।
♦ याे पनि:
एकीकृत समाजवादीको मन्त्री हेरफेरको गाँठो फुस्केला कि कसिलो बन्ला ?
उनीहरूले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई ‘अपराधी’को जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टिसमेत पोखेका छन् । ‘पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछाैँ भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्याउने र पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन ।’ असहमतिपत्रमा भनिएकाे छ ।
०००
एकीकृत समाजवादी एमालेमा ‘विद्राेह’ गरेर नेपालले बनाएकाे पार्टी हाे । २०७८ भदाै ९ गते निर्वाचन आयाेगमा दर्ता भएकाे एकीकृत समाजवादीभित्र केही सांसदहरूले विद्राेह गरेका हुन् । विद्राेही नेताहरूले पार्टी फुटाउन सक्ने भय अध्यक्ष नेपाललाई छ । यसैकारण उनले मन्त्री नबनेकाहरूलाई मन्त्री बनाउन सिफारिस गरेका हुन् । तर, सरकारमा मन्त्रीकारूपमा रहेका नेताहरूले त्याे नमान्ने भनेपछि अध्यक्ष नेपाल अप्ठ्याराेमा परेका हुन् ।










