एकीकृत समाजवादीको मन्त्री हेरफेरको गाँठो फुस्केला कि कसिलो बन्ला ?

काठमाडौँ । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले केही घण्टाभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताए । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार पत्रकारहरूसँग उनले यसो भनिरहँदा एकीकृत समाजवादीबाट मन्त्री बन्न जानेहरू फुरुङ्ग भए । तर नेता खतिवडाको दाबी आज दिनभरि नै पूरा हुन सकेन ।

यसबाट के प्रष्ट हुन्छ भने एकीकृत समाजवादीमा मन्त्री हुन जानेहरूको आतुर र मन्त्रीबाट बाहिर निस्कन भएको अटेरीको कारण मन्त्रिमण्डल पुनर्गठन हुन सकिरहेको छैन । यतिबेला एकीकृत समाजवादी मन्त्रिमण्डल पुनर्गठन गर्न नसक्दा आलोचित भइरहेको छ । खतिवडाको दाबी अनुसार आजै एकीकृत समाजवादीका पुराना मन्त्री आउट र नयाँ मन्त्रीमा इन हुुनुपर्ने हो, त्यो समय अब गुज्रेको छ । एकीकृत समाजवादीले हेरफेरको गाँठो अझ कसिलो बन्ने देखिएको छ ।

नेकपा एकीकृत समाजवादीले जेठ २२ मै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । तर हालका सहरी विकास मन्त्री रामकुमारी झाँक्री र पर्यटनमन्त्री प्रेम आलेले असहमति जनाए । मन्त्री झाँकीले पार्टी बैठकमा राम्रो काम गर्दागर्दै मन्त्री पद छोड्न नसक्ने बताइन् । पार्टीले पनि मन्त्रीलाई हटाउने निर्णय गरिसकेको छैन । सत्तारुढका अन्य दलहरू पनि मन्त्री हेरफेरमा रुचि देखाएका छैनन्, जसका कारण एकीकृत समाजवादीको मन्त्री हेरफेर गाँठो अझ कसिलो बन्दै गएको छ ।

जेठ २२ गते एकीकृत समाजवादीको सचिवालय बैठकले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो, त्यतिबेलै समाजवादीले नयाँ मन्त्री बन्नेहरूको नाम पनि सार्वजनिक गरेको थियो । नयाँ मन्त्री बन्नेहरूको सुचीमा भवानी खापुङ, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीको नाम थियो ।

आज नयाँ मन्त्री बन्नेहरूको नाम सार्वजनिक भएको २१ दिन पुग्दा पनि मन्त्री हुन पाएका छैनन् भने फिर्ता बोलाउने भनिएको मन्त्रीहरू पनि टसको मस भएका छैनन् । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री हेरफेरको विषयमा पटकपटक कुरा राखेका छन्, तर देउवा पनि मन्त्री हेरफेरमा रुचिकर नभएको स्रोतको भनाइ छ ।

समाजवादीका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेमबहादुर आलेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर चुनावको मुखमा मन्त्रीबाट फिर्ता नहुने जनाएका छन् । मन्त्रीबाट फिर्ता हुनैपर्ने अवस्था आए केही सर्त अघि सारेको स्रोतको भनाइ छ । जुन सर्तका कारण अध्यक्ष नेपालले उनीहरूलाई हटाएर अघि बढ्न सकिरहेका छैनन् ।

उनीहरूले राष्ट्रियसभाबाट बजेट पारित भएपछि मात्रै मन्त्री हेरफेर गर्न अध्यक्ष नेपाललाई दबाब दिएका छन् । गैर सांसदलाई मन्त्री नबनाउन अध्यक्ष नेपाललाई चुनौतीसम्म दिएका स्रोतको भनाइ छ । एक पटक जिम्मा पाएकालाई दोहोर्‍याउन नहुने, चुनावमा आफूले भनेअनुसार काम हुनुपर्नेलगायतको सर्त तेसारेपछि अध्यक्ष नेपालसमेत मन्त्रीमण्डल पुनर्गठनमा हच्केका स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवा तत्काल मन्त्रीहरू हेरफेर गर्न आनाकानी गरेपछि समाजवादी नेता झलनाथ खनालले गठबन्धनमा धक्का लाग्न सक्ने चेतावनी दिन थालेका छन् भने माधव नेपाल बहालवाला मन्त्रीले सर्तमाथि सर्त राखेपछि ठोकेर निर्णय गर्न पनि सकेका छैनन्, जसका कारण समाजवादीमा मन्त्री हेरफेरको गाँठो अझ कसिलो बन्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *