काठमाडौँमा वर्षा, दिउँसो देशभर पानी पर्ने

काठमाडौँ । नेपालमा पनि बिस्तारै मनसुन सक्रिय बन्दै गएको छ । काठमाडौँमा बिहानैदेखि पानी परिरहेको छ ।
दिउँसो केही समय वर्षा रोकिने पनि अपराह्न फेरि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँका हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिएका छन् । प्रदेश-१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशमा पनि केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भट्टराईले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । आजबाट उक्त प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने मौसमविद् भट्टराईले जानकारी दिए ।
यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो । विभागका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ ।








