प्रदेश १ : पर्यटन व्यवसायीका गुनासै-गुनासा, सरकारकै कारण बोर्ड निष्क्रिय

विराटनगर । प्रदेश १ को पर्यटनको आधार भनेको भारतीय पर्यटकलाइ नेपाल भित्र्याउनु नै हो । भारतीय पर्यटक नेपाल भित्र्याउन नसक्ने हो भने प्रदेश १ को पर्यटन गतिविधि बढ्न नसक्ने भन्दै पटकपटक पर्यटन व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । पर्यटन व्यवसायीको कुरा सरकारले अहिलेसम्म सुनेको देखिँदैन ।

प्रदेश सरकार स्थापना भएको चौथो वर्षमा प्रदेश पर्यटन बोर्ड बन्यो । बनेको पर्यटन बोर्ड सरकार आफैँले करिब ३ महिना पनि बित्न नपाउँदै खारेज गरिदियो । पर्यटन बोर्ड खारेज गरेको सरकार उच्च अदालतले पहिलाकै अवस्थामा काम गर्न दिनु भन्ने अदालतको अन्तरिम आदेशको बेवास्ता गर्दै आएको छ। बोर्डलाई बेकामे बनाएको छ । बोर्ड मातहतका कुनैपनि निकायले काम गर्न सकेको छैन ।

बुधबार र बिहीवार दुई दिनसम्म प्रदेश सरकारले अन्तरप्रदेश अन्तर्राष्ट्रिय पर्यटन, व्यवसायी, पत्रकार र सरोकारवालाहरूको बीचमा अन्तरक्रिया तथा प्रचारप्रसार गोष्ठी गर्‍याे । पर्यटन तथा संस्कृति मन्त्रालय आफैँले कार्यक्रम गर्‍याे, पर्यटनसम्बन्धी गतिविधि गर्ने निकाय पर्यटन बोर्डलाई निस्क्रिय नै बनाइदियाे । यस्ता कार्यक्रम पर्यटन बोर्डमार्फत् गर्नुपर्ने पर्यटन व्यवसायीहरू बताउँदै थिए । उच्च अदालतले बोर्डलाई यथास्थितिमै काम गर्नु भनेपनि पर्यटन तथा संस्कृति मन्त्रालयले आयोजना गर्ने हरेक कार्यक्रममा नबोलाउने गरेको बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारी गुनासो गर्छन् ।

यसको असर भनेको भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको बोर्डलाई राजेन्द्र राई नेतृत्वको सरकार र उनको पार्टीबाट मन्त्री भएकी खिनु लङ्वा लिम्बुले स्वीकार गर्न नसक्नु नै हो । प्रदेश १ का पर्यटन व्यवसायीका प्रशस्तै समस्याहरू थिए । प्रदेश पर्यटन तथा संस्कृति मन्त्री लिम्बुलाई व्यवसायीले आफ्ना समस्याहरू सुनाइरहँदा मन्त्री कुरा सुन्ने अवस्थामा मात्र थिइन् । पर्यटन व्यवसायीका समस्या समाधान गर्न सक्ने खालको जवाफ उनको थिएन ।

समस्या व्यवसायीका

पर्यटन व्यवसायी भबिश श्रेष्ठले प्रदेश १ मा पर्यटन क्षेत्रको विकास हुन नसक्नुलाई राज्यको नीतिसँग जोडे । श्रेष्ठले दुई दिनसम्म भएको छलफलबाट आएको निष्कर्ष र उठेका विषयहरू टिपेर कार्यान्वायनमा ल्याउन आग्रह गरे । भारतीय पर्यटकहरू नेपाल प्रवेश गर्दा उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका श्रेष्ठले तत्काल राज्यले पर्यटन नीतिमा सुधार ल्याउन जरुरी रहेको औँल्याए ।

पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धन गर्ने खालको कार्यक्रम राख्नुपर्ने माग राख्दै आएको थियो । १४ जिल्लाबाट ३ देखि ४ जना सहभगी गराउने प्रयास भएको छ । ‘भन्सार तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनहरूलाई ठाउँ-ठाउँमा रोक्ने, दु:ख दिने, पैसा माग्ने खालको गतिविधिलाई सरकारले रोक्नुपर्छ । एकपटक सीमा क्षेत्रमा चेकजाँच गरेर नेपाल प्रवेश गरेका गाहीरूलाई निर्वाध गन्तव्यसम्म जाने वातावरण मिलाउनुपर्छ,’ उनले भनेका छन् ।

भारतीय पर्यटकलाई सहज नबनाउने हो भने मात्र पनि प्रदेश १ का होटल, ट्राभल्स र होमस्टे सहज संचालन हुनसक्ने अन्यथा बन्द गर्नुपर्ने अवस्थामा पुग्ने बताए । श्रेष्ठले प्रदेश १ मा रहेका पर्यटकीय क्षेत्रको दस्तावेज तयार गर्नतर्फ कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए ।

अहिलेसम्म पर्यटन व्यवसायीले स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनैपनि सहयोगको महसुस नगरेको गुनासो गरे । प्रदेश १ को पर्यटन प्रवर्द्धन गर्नका लागि हरेक पर्यटकीय गन्तव्यमा जाने छलफल गर्ने त्यहाँको समस्याको कुरा गर्ने राम्रा कुराहरूको प्रचार गर्ने हो भने पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार व्यापक हुने व्यवसायीको भनाइ छ ।

भारतीय पत्रकार बरूण मिश्रले नेपाल सरकारले भनेकोजस्तो नेपालमा पर्यटकीय गतिविधि नभएको सुनाए । भारतीय पर्यटकहरूलाई नेपाल आउन समस्या भएको, ५० हजार लिएर घुम्न जाउँ भनेर आउँदा प्रहरी पक्राउ गरेर थुन्ने खालका गतिविधि भएपछि भारतीय पर्यटकहरू नेपाल आउन मन नगर्ने गरेको सुनाए । ‘उपचार गर्न, घुमघामका लागि आउने नागरिक बोर्डरमा रोक्ने गरिएको छ । यदि भारतीय पर्यटक भित्र्याउने हो भने उनीहरूलाई उनीहरूलाई कडाइ गर्नु हुँदैन,’ उनले भनेका छन् ।

भारतको पूर्णिया पत्रकार संघका अध्यक्ष तथा पर्यटन पत्रकार नन्दकिशोर सिंहले पर्यटन बोर्डको कार्यक्रममा नजिकबाट बुझेकोले नेपाल आउने भारतीय पर्यटकलाई समस्या रहेको सुनाए । साईकल पर्यटन प्रवर्द्धनकाे लागि बनारसदेखि साईकल चलाएर साईक्लिस्ट नेपालमा ल्याइएकाे भएपनि गाडीमार्फत् आउने तथा नेपालमा नै केही समय बसौँ घुमेर जाउँ भनेर आउनेले सहज घुमेर जानसक्ने अवस्था नरहेको उनले सुनाए ।

पर्यटन तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत रामसुन्दर थापाले प्रदेशको पर्यटन प्रदर्द्धनका लागि केही गन्तव्य पहिला देखि नै पहिचान हुँदै आएको बताए । फुङफुङे झरना, पाथिभरा, सन्दकपुर माईपोखरी, भेडेटार, नमस्ते झरना, अरूण उपत्यका, हलेसी, सगरमाथा स्याङ्बोचे, पोकली झरना, बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र, र कोशीटप्पु वन्यजन्तु आरक्ष प्रदेशको मुख्य पर्यटकीय गन्तव्यकाे रूपमा रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *