कारागारको सजाय भोग्दै बाघ, कहिले होला कैद मिनाहा ?

चितवन । कुनै मानिस आपराधिक घटनामा संलग्न भएर दोषी ठहर भए त्यस्ता व्यक्तिलाई अदालतको आदेशले कैद तथा जरिवाना वा दुवै सजाय हुने गर्छ भन्ने हामी सबैले सुनेका र देखेका छौँ । तर, दोषी ठहर भए अब मानिसले मात्र होइन, वन्यजन्तुले पनि कैद सजाय भोग्नुपर्छ भन्ने सुन्दा पत्याउन मुस्किल परे पनि सत्य साबित भएको छ ।  

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुले कैद सजाय भोगिरहेका छन् । त्यो पनि अन्य साना घाँस खाने वन्यजन्तुले होइन, मान्छे खाने बाघले कैद सजाय भोगिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जले चारवटा मान्छे आक्रमण गर्ने बाघलाई सजाय गर्दै कारागारमा राखेको छ । उनीहरूमध्ये तीनवटा बाघको कैद मिनाहा झट्टै हुने देखिएको छैन । एउटा बाघको कैद मिनाहा भने छिटै हुने भएको छ ।  

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कैद सजाय भोगिरहेका चार बाघलाई यति नै सजाय भनेर तोकिएको छैन । चारवटा बाघले मान्छेलाई आक्रमण गरेबापत कारागारको सजाय भोगिरहेका हुन् । उनीहरूको जीवनमा परिवर्तन नआउँदासम्म अर्थात् अब मान्छे खाँदैन जंगलमा छोड्दा हुन्छ भन्ने विज्ञसहितको टोलीलाई लागेपछि कैद सजाय मिनाहा हुनसक्ने सूचना अधिकारी तिवारी बताउँछन् । 

उनी भन्छन्, ‘तीनवटा बाघको क्रियाकलाप हेर्दा उनीहरूले मान्छे खाँदैनन् भन्ने लागेको छैन, एउटा बाघले जम्काभेट भएर मान्छेमाथि आक्रमण गरेको देखिन्छ, त्यो बाघको कैद सजाय मिनाहा छिटै हुन्छ ।’ उनका अनुसार चार बाघ नै नरभक्षी हुन् । मान्छेमाथि आक्रमण गर्ने बाघलाई नरभक्षी बाघ भनिन्छ । 

‘चार बाघमध्ये एउटा बाघ अलिकति शान्त हुन खोज्दैछ, त्यसको मान्छेमाथि आक्रमण गर्ने इन्टेन्सन होइन, जम्काभेट भएर आक्रमण गरेको हो, चारमध्ये त्यो बाघको अलि चाँडै सजाय मिनाहा हुनसक्छ’ तिवारीले भने, ‘कारागारमा बसेका अन्य तीनवटा बाघले मान्छे देखेपछि झम्टन खोजेको देखिन्छ, यस्तो अवस्थामा उनीहरूको कैद मिनाहा हुँदैन ।’ 

मान्छे खाने गल्ती गरेकै कारण यतिबेला बाघले सजाय भोगिरहेको उनले बताए । जम्काभेटका क्रममा आफू र बच्चालाई जोगाउँछु भन्दा मान्छेमाथि आक्रमण गरेका हुन् कि अथवा मान्छे खोज्दै गएर आक्रमण गरेका हुन् यो विषयमा चितवन निकुञ्जले कारागारका चारवटा बाघको अध्ययन गरिरहेको छ । कारागारमा रहेका चारैवटा बाघ भाले हुन् । चारवटै बाघ ८ देखि १० वर्षका छन् । 

कारागारमा कसरी आइपुगे बाघ ?

बाँकेको एउटा बाघले पाँचजना मान्छे मारेको आरोपमा यतिबेला चितवन निकुञ्जमा कारागार जीवन भोगिरहेको छ । २०७८ सालमा बाँकेको राप्ती सोनारीमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भयो । मान्छेमाथि आक्रमण गर्ने एउटा बाघलाई नियन्त्रणमा लिन दबाब आयो । बाँकेमा पाँच जनामाथि आक्रमण गरेको आरोपमा बाघलाई फागुनमा नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ । 

गत वैशाख १८ गते चितवन खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भयो । बाघलाई नियन्त्रणमा लिन निकुञ्जलाई स्थानीयले दबाब दिए । आक्रमणकारी १० वर्षे भाले बाघलाई आक्रमणको तीन दिनपछि नियन्त्रणमा लिएर निकुञ्जले कारागार पठाउन आदेश दिएको थियो तर त्यो बाघले दुई महिनामै कैद मिनाहा पायो । 

रेडियोकलर गरेर जंगलमा छोडिएको त्यस बाघको अनुगमन भइरहेको निकुञ्जको भनाइ छ ।  

यही जेठ २७ गते राप्ती–१ का ४३ वर्षे इन्द्रबहादुर थिङलाई बाघले आक्रमण गरी घाइते बनायो । बाघ गाउँ नै छिरेर भैँसी बाख्रा खायो । गाउँभरि त्रास फैलायो ।  गाउँ छिरेर मान्छेमाथि आक्रमण गरेपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिएर कारागार पठाउन आदेश दियो । यो बाघले छिटै कारागारको सजाय मिनाहा पाउने सूचना अधिकारी तिवारी बताउँछन् । उनी भन्छन्, ‘जम्काभेट भएर मान्छेलाई सामान्य आक्रमण गरेको हो, आत्तिएर केही वस्तुलाई पनि आक्रमण गरेको देखिन्छ, निगरानी गर्ने तरिकाले यो बाघलाई फेरि जंगलमा छोड्ने अवस्था छिटै आउँछ ।’

यही २ असारमा निगुरो टिप्न समूहमा गएका पूर्व म्यादी प्रहरी भरतपुर २७ की २३ वर्षीया रेखा बस्नेतलाई बाघले खायो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा रेखाको शव खाइरहेको बाघ धपाउन नेपाली सेनाले हवाईफायरसम्म गरेको थियो । त्यो बाघलाई नियन्त्रणमा नलिएसम्म शव नउठाउने स्थानीय माग गर्दै आन्दोलनमा उत्रेपछि निकुञ्जले त्यो बाघलाई पनि नियन्त्रणमा लिएर कारागार चलान गरेको छ ।

कारागारमा २०७७ मा थुनिएको एउटा भाले बाघ सबैभन्दा पुरानो छ । निकुञ्जले कारागारमा बन्दी बनाएको पहिलो बाघ पनि हो यो । भरतपुर १३ मा रहेको वेलसर सामुदायिक वनमा मान्छेमाथि आक्रमण गरेर मारेको आरोपमा त्यो बाघ अहिले कसरामा थुनिएको छ । 

यसरी मान्छे खाने बाघलाई दोषी ठहर गर्दै निकुञ्जले कारागारमा थुनेर राखेको छ । बाघ थुन्न बनाइएको खोर अहिले भरिएको निकुञ्जले जनाएको छ । सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने, ‘थप दुई खोर बनाउने योजना छ, दोषी ठहर भएका बाघलाई थुन्न परे अहिले खोर अभाव भइसकेको छ ।’

बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेसँगै थप दुइटा खोर निर्माण गरिँदैछ, जुन यही असारभित्र तयार हुने उनले बताए । उनका अनुसार विगतको तुलनामा मान्छेमाथि बाघको आक्रमण बढेको छ । अघिल्लो वर्ष बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । चालु वर्षमा मात्र बाघले १६ जनाको ज्यान लिइसकेको छ । 

‘बाघको आक्रमण बढ्दै जानुको कारणमा संख्यालाई पनि हेरिएको छ । विगतका वर्षहरूमा बाघको संख्या बढेको देखिएको छ’ तिवारीले भने, ‘यसअघि चितवन निकुञ्जमा बाघको गणना भए पनि यसको नतिजा आउन बाँकी नै रहेको छ ।’

चितवन राष्ट्रिय निकुञ्जका अनुसार सन् २०१८ को गणनाअनुसार, नेपालमा बाघको संख्या २ सय ३५ छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्र ९३ वटा बाघ रहेका छन् । सन् २०२२ मा पनि बाघको सर्वेक्षण गरिएको छ, जसको नतिजा भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *